Logo
Logo

जसपा विभाजन हुने खतरा बढेपछि मन्त्री हेरफेर रोकियो


164.2k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का कारण मन्त्री हेरफेर गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय तत्कालका लागि कार्यान्वयन नहुने भएको छ ।

आइतबार एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउँदै नयाँ मन्त्रीको नाम प्रधानमन्त्री देउवालाई बुझाएको थियो । तर, मन्त्री परिवर्तन गर्ने एकीकृत समाजवादीको निर्णयका कारण प्रधानमन्त्री देउवा र जसपामा दबाब बढेपछि एकीकृत समाजवादीको निर्णय तत्कालका लागि कार्यान्वयन नहुने भएको हो ।

एकीकृत समाजवादीले मन्त्री परिवर्तन गर्ने निर्णय गरेसँगै जसपामा पनि मन्त्री फेर्नुपर्ने दबाब बढेपछि अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री देउवालाई भेटर तत्कालका लागि मन्त्री हेरफेर नगर्न अनुरोध गरेका थिए ।

भेटमा जसपा अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीसँग ‘मन्त्री हेरफेरको घटनाले मेरो पार्टी विभाजन हुने खतरा भयो, अहिलेलाई रोक्नुपर्यो’ भन्दै अनुरोध गरेका थिए ।

वर्तमान गठबन्धनकै विषयलाई लिएर जसपामा मतभेद बढ्दै गएको बेला मन्त्री फेर्नुपर्ने माग जोडदार रुपमा उठ्दै आएको छ । एक समूहले उपेन्द्रलाई मन्त्री नफेरे पार्टी विभाजन गर्ने सम्मको चेतावनी दिएको बुझिएको छ ।

एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेसँगै नेपाली कांग्रेसमा पनि मन्त्री परिवर्तन गर्नुपर्ने दबाब बढेपछि प्रधानमन्त्री देउवासमेत दबाबमा छन् ।

आफ्नै पार्टीको दबाब र जसपामा समेत असहज वातावरण बनेपछि प्रधानमन्त्री देउवा तत्कालका लागि मन्त्री हेरफेर नगर्ने निर्णयमा पुगेका हुन् ।

प्रधानमन्त्री देउवाले यस विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत सभाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सल्लाह गरेका छन् । गठबन्धनका दुई नेतासँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले ‘दुई–तीन दिनभित्र आन्तरिक समस्या समाधान गरेर मन्त्री हेरफेर गरौं भन्दै’ समय मागेका छन् ।

एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेसँगै माओवादीमा समेत मन्त्री फेर्नुपर्ने माग बढेको छ । तर, माओवादी अध्यक्ष प्रचण्ड भने ‘तत्काल मन्त्री फेर्न आवश्यक छैन’ भन्ने पक्षमा छन् । तर, बढ्दो दबाबका कारण माओवादी मन्त्रीसमेत फेरिने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्