काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।

गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो ।
तर हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै विभिन्न पक्षबाट आलोचना भइरहेको थियो । त्यस्तै संघीय सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गरे पनि स्थानीय तहहरूले भने अवज्ञा गर्दै आएका थिए ।
यसैबीच हप्तामा दुई दिन बिदा दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेको छ । अधिवक्ता रामबहादुर शाही, तेजकुमार लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले आवश्यक तयारीबिनै हप्तामा २ दिन बिदा दिने निर्णय गरेकाले उक्त निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए ।











