काठमाडौं । काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन सबैको टाउको दुखाइको विषय बनेको छ । पछिल्ला समय उपत्यकामा फोहोर उठ्न सकेको छैन । चोकचोक तथा सडकमा यत्रतत्र फोहर थुप्रिएको छ ।
फोहरको दीर्घकालीन व्यवस्थापन गर्ने सरकारको घोषणाले मूर्तरुप लिन सकेको छैन । उपत्यकाको फोहर व्यवस्थापन गरिँदै आइएको नुवाकोटको सिसडोल क्षेत्रका स्थानीयको अवरोधका कारण फोहर बोकेका गाडी ‘डम्पिङ साइट’ सम्म पुग्न सकेका छैनन् ।
उपत्यकाको फोहरको दीर्घकालीन व्यवस्थापनका विषयमा राष्ट्रियसभाका सांसदहरुले सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद गोपीबहादुर सार्की अछामीले काठमाडौँको चोकचोकमा थुप्रिएको फोहरको तत्काल व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘फोहरले दुर्गन्ध बढेको छ, अहिले पानी परिरहेको छ, यसले हैजालगायत महामारी फैलन सक्छ, त्यसकारण फोहरको चाँडो व्यवस्थापन गर्नुपर्छ ।’
फोहर व्यवस्थापनलाई महानगरको मात्र दायित्वका रुपमा कसैले पनि बुझिदिन नहुने भन्दै उनले फोहरको दीर्घकालीन समाधानका लागि सबै सरोकारवालाको उत्तिकै भूमिका रहने बताए ।
कुहिने र नकुहिने फोहरलाई एकै ठाउँमा व्यवस्थापन गर्नुभन्दा कुहिने फोहरबाट मल र नकुहिने फोहरको पुनः प्रयोग गर्नेतर्फ ध्यान दिनुपर्ने बताए । ‘सडेर जाने फोहरलाई मलको रुपमा प्रयोग गर्न सकिन्छ । यसका लागि नागरिक सचेतनाको आवश्यक छ, नकुहिने फोहोर कवाडीमा बेचेर आर्थिक उपार्जन गर्न सकिन्छ ।’
सांसद जयन्ती देवी राईले फोहरको दुर्गन्धका कारण सडकमा हिँड्नसमेत समस्या भएको उल्लेख गर्दै यसको दीर्घकालीन व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए । फोहरलाई स्रोतमा नै कुहिने र नकुहिने गरी छुट्टयाएर व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै उनले फोहरलाई मोहरमा बदल्ने कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरे ।
‘अहिले दुर्गन्धले हिँडन सक्ने अवस्था छैन । गर्मी र बर्खाको समय छ, महामारी फैलन सक्छ त्यसकारण फोहरको जतिसक्दो चाँडो व्यवस्थापन गर्नुपर्छ’, उनले भने ।











