Logo
Logo

वाढीको विनाशलीला


- दृष्टि न्युज/संवाददाता


असार २९ गते विहान सम्मको सरकारी रिपोर्ट अनुसार वाढी पहिरोवाट ४३ जनाको ज्यान गइसकेको छ । यसले हजारौं जनतालाई विस्थापित गराएको छ । करोडौंको धनमाल नोक्सान गरेको छ । वर्षेनि हुने यस्तो विनाशलीलावाट जोगाउने उपायमा सरकारले भने समय मै रोकथामका उपाय अवलम्वन गर्ने नीति र योजना वनाएर लागु गर्दैन । अनि जब वाढी पहिरोको प्रकोप वढ्छ, तब सरकारी निकायहरु वैठक गर्न थाल्छन् ।

उपत्यकामा वाढीको विनाशलीलाको कारण भनेको अब्यवस्थीत वसोवासको तीब्र विस्तार सरकारले नरोक्नु, खोलाको प्राकृतिक वहाव रोकेर खोला समेत मिच्दै जाने क्रमलाई सरकारले समय मै नियन्त्रण नगर्नु आदि हुन् । तर सरकारका वहुसंख्यक निकायका ठुला बडाहरुले भने भ्रष्टाचारमा ध्यान केन्द्रित गर्दै यस्ता महत्वपूर्ण कामहरुमा वेवास्ता गर्दै आइरहेको छ ।

 

मधेसमा वाढी र डुवानको एक प्रमुख कारण सीमा क्षेत्रमा भारतीय पक्षले वनाएको वाँध हो । सीमा क्षेत्रमा यसरी वाँध वनाउन अन्तराष्ट्रिय कानुनले दिंदैन । तर भारतीय पक्षले पानीको प्राकृतिक वहावलाइ छेक्ने गरेर सीमा क्षेत्रका अनेकौं ठाउँमा वाँध वनाएको छ । यस्ता वाँधले नेपाल तर्फका वस्ती र खेतहरुमा वाढी र डुवानको समस्या वर्षेनि ल्याउने गरेको छ ।

यसपालीपनि गौर लगायत कयौं सीमावर्ति क्षेत्रमा डुवानको समस्या आयो । भारतले वनाएका वाँधका ढोका समय मै नखोलि दिनाले वस्ती डुब्न पुग्यो । यस्तो समस्याका विषयमा राष्ट्रवादी भनिएको सरकारले वेलैमा भारतीय पक्ष संग कुरा गरेर मिलाउनु पर्दथ्यो । तर वर्तमान सरकारले सीमानामा भारतीय पक्षले वनाएका अवैध वाँधका भत्काउने विषयमा कुनै पहल गरेन ।

विषादी तरकारी प्रकरणमा भारतीय दवाव सामु झुकेको वर्तमान सरकारको लम्पसारवादी प्रवृति प्रकट भयो । अवैध भारतीय वाँधका विषयमा भारतीय पक्ष संग अडान सहित समाधानकालागि पहल गर्न त्यही लम्पसारवादी प्रवृति वाधक वनिरहेको छ । यसले जनताको अनाहकमा ज्यान गैरहेको छ । करोडौं सम्पति क्षति भैरहेको छ ।

वाढीको अर्को कारण भनेको वन विनास हो । वन तश्करहरु संग सरकारी ठुला वडाको मिलोमतोले वन विनासले कहालीलाग्दो रुप लिइरहेको छ । केही ठुलावढा मोटाएपनि यसले पहिरो र वाढीलाई निमन्त्रणा दिइ जनधनको ठुलो क्षति गराइ रहेको छ । सरकारले उनीहरुमाथि कारवाही गर्न सकेको छैन ।

वाढीको तेश्रो कारण चुरे तथा मधेशमा भइरहेको खोलानालाको गिट्टी वालुवाको अबैध तथा अबैज्ञानिक दोहन हो । यस क्षेत्रमापनि ठुलावढा र तश्करहरु मिलेर लुटमार चलाइरहेकाछन् । तर सरकार मुकदर्शक वनिरहेको छ ।

वाढीको चौथो कारण खोला नालामा वैज्ञानिक तटवन्ध नवनाउनु, वनेका तटवन्ध पनि अबैज्ञानिक र कमसल हुनु हो ।

सरकारवाट यसपटक जनताले स्थिरता संगै विकासको ठुलो अपेक्षा राखेका थिए । तर सरकार चिप्लेकिरा गतिमा जनताको काम गर्दैछ भने ठुलावढाकालागि रकेट गतिमा कमाउ धन्धा चलिरहेकोछ ।

अहिले वाढी पहिरोको प्रकोपवाट पीडित जनतालाई तत्काल उचित राहत सरकारले दिनु पर्दछ । मृतक परिवारलाई कम्तिमा १५ लाख दिइनु पर्दछ । वाढी पहिरोका कारणहरु समाधान गर्न सरकारले तदारुकतासाथ काम थाल्नु पर्दछ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्