काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको मत परिणामअनुसार कांग्रेस पहिलो दल बनेको निष्कर्ष निकालेको छ ।
कांग्रेस केन्द्रीय सदस्य एवम् केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजक प्रदीप पौडेलले सार्वजनिक गरेको प्रतिवेदन कांग्रेस पहिलो दल बनेको उल्लेख गरेको हो ।
समितीले सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कालाई बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा कांग्रेसलाई सबैभन्दा ठूलो दलको रूपमा स्थापित गरेको छ। वडा अध्यक्षमा प्राप्त गरेको मतको आधारमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दलको रूपमा स्थापित भएको छ।’
पाँच दलीय गठबन्धनलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमै अत्यन्त चासोका साथ हेरिएको उल्लेख गरेका छन् ।
‘निर्वाचन परिणामलाई लिएर गठबन्धनमा रहेका दलहरूबीच आपसमा र सम्बन्धित दलभित्र नै केही असन्तुष्टि र आकाङ्क्षा एकैपटक प्रकट भएको छ । यसले प्रादेशिक र सङ्घीय निर्वाचनमा गठबन्धनले निरन्तरता पाउँछ कि पाउँदैन भन्ने विषयमा चर्चा हुन थालेको छ’ प्रतिवेदनमा भनिएको छ ।
गठबन्धनको औचित्य कुनै राजनीतिक शक्तिलाई निस्तेज पार्नेभन्दा पनि राजनीतिक क्रान्तिमार्फत प्राप्त उपलब्धिको रक्षा गर्दै समुन्नत राष्ट्र निर्माणमा वैचारिक प्रतिस्पर्धा अँगाल्दै रणनीतिक रूपमा साझा संकल्पसहित उद्देश्य प्राप्तिका लागि अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ।











