Logo
Logo

एउटा गाउँमा आठवटा सडक


1.1k
Shares

गलेश्वर । पश्चिम म्याग्दीको मालिका–२ रुमवासीले पाँच वर्षअघिसम्म बिरामी पर्दा अप्ठ्यारो बाटोमा स्ट्रेचरमा बोकेर उपचारका लागि दरबाङ हुँदै सदरमुकाम बेनी, पोखरा तथा काठमाडौँ जानुपर्ने जानुपर्ने हुन्थ्यो । तर, अहिले यहाँका बिरामीलाई गाउँको स्वास्थ्यचौकीमा उपचार हुन नसक्ने रोगका लागि एम्बुलेन्स वा गाडीमा बसेर सहरका सुविधायुक्त अस्पतालमा जान पाउने सुविधा छ ।

रुम बासीका दुःख र पीडामा पछिल्ला पाँच वर्षको अवधिमा मलहम लागेको छ । गाउँमा सडक पुगेको छ । यो पाँच वर्षको अवधिमा रुमका अधिकांश बस्तीमा सडक, शिक्षा, स्वास्थ्य र खानेपानीमा पहुँच विस्तार भएको छ । स्थानीय सरकार, प्रदेश र सङ्घ सरकारबाट बजेट भित्रिन थालेपछि गाउँको विकासको ढोका खुलेको छ । गाउँमा पुग्न दरबाङदेखि मुख्य सडकसँगै अभिारादेखि अरु सातवटा सडक खुलेका छन् ।

पाँच वर्ष पहिला गाउँमा सडक पुगेको थिएन । गाडी भेट्न पैदल हिँडेर दरबाङ बजार झर्नुपथ्र्यो । दैनिक उपभोग्य वस्तुलगायतका सामग्री खच्चडलाई बोकाएर गाउँमा ल्याउनुपथ्र्यो । बिरामीलाई अस्पताल लग्न स्ट्रेचरमा राखेर घण्टौँसम्म पैदल हिँड्नुपर्ने बाध्यता थियो ।

पाँच वर्षअघि म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँका स्थानीयवासीका दुःख, पीडा भए पनि सङ्घीयता कार्यान्वयन भएसँगै स्थानीय तहमा जनप्रतिनिधि आएपछि दुर्गम रुम गाउँको मुहार फेरिएको छ । घर आँगनबाटै रुमवासी मोटर चढेर पालिका केन्द्र दरबाङ र बेनीसम्म पुग्ने सुविधा पाएका छन् । घरघरमा खानेपानीको सुविधा पुग्यो ।

स्थानीय तहमा जनप्रतिनिधि आएसँगै यो पाँच वर्षको अवधिमा रुमका सबै बस्तीमा सडक पुगेको पूर्व वडाध्यक्ष नरबहादुर पुनले बताए । “पहिला गाउँमा विकास बजेट नै न्यून आउँथ्यो”, उनले भने, “स्थानीय सरकार बनेपछि गाउँको विकासका लागि करोडौँ रकम भित्रिन थाल्यो । गाउँपालिकाका साथै सङ्घ र प्रदेशबाट सडक, शिक्षा र स्वास्थ्यलगायतका पूर्वाधारका क्षेत्रमा राम्रो बजेट आएपछि गाउँमा परिवर्तन आयो ।”

पाँच वर्षमा अधिभरादेखि रुम गाउँ आउने मुख्य सडकका साथै आठवटा अन्य सडक निर्माण भएको उनले बताए । गाउँका सबै बस्तीमा सडक पहुँच विस्तार भएको छ । पूर्व वडाध्यक्ष पुनले भने, “कमजोर भूगोल भएकाले बाह्रै महिना सडक सञ्चालन गर्न चुनौती छ ।” सडक स्तरोन्नति र सडक पुलको व्यवस्था मिलाउन सके रुम गाउँमा बाह्रै महिना यातायात सञ्चालन गर्न सहज हुने उनले बताए ।

विद्यालयको भौतिक पूर्वाधारका क्षेत्रमा पनि पाँच वर्षमा राम्रो विकास भएको उनले बताए । विद्यालयमा भवन निर्माण, फर्निचरको व्यवस्थापन, खेल मैदान निर्माण, घेराबार तथा शौचालय निर्माण भएका छन् । विभिन्न स्थानमा गरेर पाँचवटा झोलुङ्गे पुल निर्माण भएका छन् । जसले स्थानीयवासीलाई आवतजावतमा सहजता मिलेको छ ।

सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तहमा जनप्रतिनिधि आएपछि रुम गाउँमा विकास भित्रिन थालेको स्थानीय युवा तारा रोकाले बताए । गाउँमा सडक पुगेपछि दैनिक उपभोग्य वस्तु ढुवानी मूल्य आधाले घटेकाले सुलभ दरमा गाउँमै दैनिक उपभोग्य वस्तु पाउन थालेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्