
काठमाडौँ । लोकसेवा आयोगले निजामती तथा सङ्गठित संस्थाका विभिन्न पदमा गरेका विज्ञापनविरुद्ध परेका मुद्दाका कारण ठूलो संख्यायामा कर्मचारीको पदपूर्ति अवरुद्ध भएको छ ।
खरिदारको पदपूर्ति ३ वर्षदेखि रोकिएको छ । कर्मचारी समायोजनको मुद्दाले २०७६/७७ मा विज्ञापन भएर परीक्षा भएको खरिदारको नतिजा प्रकाशन रोकिएको छ । यसैगरी २०७७/७८ मा खुलेको खरिदारको विज्ञापनको परीक्षा नै भएको छैन ।
समायोजनकै मुद्दाका कारण ३ सयभन्दा धेरै शाखा अधिकृतको पदपूर्ति प्रक्रिया अवरुद्ध भएको छ । आयोगका प्रवक्ता तोयनारायण सुवेदीले कर्मचारी समायोजन मुद्दाको टुंगो नलाग्दा ठूलो संख्यामा पदपूर्ति रोकिएको जानकारी दिए । समायोजनकै कारण प्रशासन सेवाअन्तर्गत २०७७/७८ को शाखा अधिकृत र इन्जिनियरिङ सेवाको विज्ञापनको पदपूर्तिसमेत रोकिएको छ ।
यसैगरी कृषि सेवातर्फ नायब सुब्बा प्राविधिक पदको पदपूर्ति पनि रोकिएको छ । विद्यालय निरीक्षकको १६ जनाको पदपूर्ति पनि अलपत्र छ । पशु अधिकृतको १५ जनाको पदपूर्ति पनि रोकिएको छ । विभिन्न समुदायले आफ्नो समुदाय नसमेटेर विज्ञापन गरिएको भन्दै मुद्दा हाल्ने क्रम पनि जारी छ ।
थारू समुदायलाई नसमेटेर विज्ञापन गरिएको भन्दै सर्वोच्चमा मुद्दा परेपछि शाखा अधिकृत र प्राविधिक नायब सुब्बाको पदपूर्ति पनि रोकिएको छ । गोरखापत्रमा समाचार छ ।














