सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आगामी संघीय निर्वाचनमा तालमेल गरेर जाने अनौपचारिक सहमति भएको छ ।

आइतबार हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि गठबन्धन गरेका एमाले र माओवादीका नेताहरुबीच यो गठबन्धनलाई प्रतिनिधिसभा र प्रदेशसभा चुनावसम्म लैजाने समझदारी भएको दुवै दलका जिल्ला नेताहरुले बताएका छन् ।
जिसस निर्वाचनमा कांगे्रेसले नेकपा एकीकृत समाजवादीसँग तालमेल गरेको छ । स्थानीय तह निर्वाचनमा माओवादीको समर्थनमा चौतारा नगरपालिकाको उपमेयर जितेको एकीकृत समाजवादीले धोका दिएको भन्दै माओवादीले एमालेसँग तालमेल अगाडि बढाएको हो ।
यहाँ माओवादी एक्लैले जित्ने अवस्था भएर पनि एकीकृत समाजवादीलाई उपमेयर दिएको थियो । तर, अहिले आएर कांग्रेसलाई जिससमा जिताउन भूमिका खेलेपछि माओवादी आक्रोशित छ ।
यसैबीच एमाले सिन्धुपाल्चोक इन्चार्ज तथा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, अरुण नेपाल, सरेश नेपाल, कमल नेपाल तथा माओवादीका जिल्ला इन्चार्ज माधव सापकोटा, जिल्ला अध्यक्ष गोविन्द पराजुलीलगायतका नेताहरुबीच छलफलपछि जिससमा जित्ने अवस्था नभएपनि भावी गठबन्धनको सन्देश दिएका छन् ।
दुवै दलका जिल्ला अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गर्दै वामपन्थीहरुको मतको रक्षा र दीर्घकालीन महत्वलाई ध्यानमा दिँदै मुलुकमा वामपन्थीहरुको एकताको माग बढ्दै गइरहेको जनाएका छन् ।
केन्द्रमा आगामी प्रदेश र संघको चुनावमा वाम गठबन्धन नहुने कुरा भइरहेका बेला सिन्धुपाल्चोकका जिल्ला अध्यक्षहरुले आधिकारिक रुपमा वक्तव्य जारी गरेर वाम गठबन्धनको माग गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।















