Logo
Logo

सरकारसंग १ दाना मल उपलब्ध गराउने उपाय छैन : विशाल भट्टराई


441
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले किसानहरु मलको समस्यामा रहेका बेला सरकार भने मौनधारण गरेर बसेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा दर्ता भएको रासायनिक मलको विषयमा छलफल गर्न बैठकको कार्यसूची स्थगन प्रस्तावमा बोल्दै भट्टराईले भने, ‘नेपाल सरकारले ३० प्रतिशत आयत घटाउने भन्ने कार्यक्रम ल्याएको छ तर सरकारसँग १ दाना मल उपलब्ध गराउने उपाय छैन । सरकार मौन धारण गरेर बसेको छ । सरकार मुकदर्शक भएर बसेको छ ।’

खेतीको समय गुज्रिसकेपछि जति नै मल ल्याए पनि त्यसको अर्थ नरहने उनले बताए । अहिले बजारमा रासायनिक मलको हाहाकार भएको भन्दै भट्टराईले धान खेतीको मुख्य सिजनमा मल उपलब्ध नहुँदा किसान मर्कामा परेको बताए ।

‘हाम्रो देशको मुख्य बाली धान, वर्षमा ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ । १०÷१२ लाख मेट्रिक टन धान अपुग हुन्छ,’ भट्टराईले भने, ‘जुन वर्ष ३० प्रतिशत आयात घटाउने भनेर बजेटमा कार्यक्रम ल्याइन्छ, त्यही वर्ष एक दाना पनि मल किसानले पाउँदैनन् । के आधारमा आयात घट्छ ?’

केही दिनअघि कृषि मन्त्री मल खोज्न भारत जानु भएको छ रे भन्ने आफूहरुले सुनेको चर्चा गर्दै उनले भने, ‘हामीलाई लागेको थियो, अगाडि अगाडि मन्त्रीको गाडी, पछाडि पछाडि मलको कन्टेनर आउला भन्ने सोचेका थियौं ।’ मल कहिले आउँछ, कहाँबाट ल्याउँछ भन्ने प्रस्ट जवाफ चाहेर नै आफूहरुले संसदको बैठकको कार्यसूचीलाई स्थगन गर्न प्रस्ताव राखेर यो विषयमा छलफलको माग गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्