काठमाडौं । सरकारले बेलायतमा रोजगारीका लागि १० हजार नर्स पठाउने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले बेलायतमा रोजगारीका लागि नेपाली नर्स पठाउने तयारी गरिरहेको जानकारी दिए ।

बेलायत सरकारको माग धेरै भएपनि अहिले नेपाल सरकारले १० हजार नर्स रोजगारीका लागि पठाउने भएको उनले जानकारी दिए । मन्त्री श्रेष्ठका अनुसार उनीहरुको मासिक तलब चार लाख हुने छ ।
‘बेलायतमा चार लाख महिनाको तलब हुने गरी हामीले नेपाली नर्स पठाउने छौँ,’ उनले भने, ‘जो यहाँ बेरोजगार हुनुहुन्छ, उहाँहरुलाई पठाउने छौँ । कम्तिमा पनि १० हजार पठाउने गरी सम्झौता गर्दैछौँ ।’
मन्त्रीपरिषद्ले निर्देशन पारित गर्ने पनि उनले बताए । उनले भने, ‘बेलायत नर्स पठाउने प्रस्ताव मन्त्रीपरिषदमा प्रस्ताव गइरहेको छ । भोलि मन्त्रिपषिदको बैठकबाट पारित हुनेछ ।’














