Logo
Logo

मेलम्ची बाढीको एक वर्ष : अझै सुरु भएन पुनर्निर्माण


378
Shares

फाइल फोटो ।

काठमाडौं । मेलम्चीमा बाढी आएको १ वर्ष पुगेको छ । बाढीले २६ जनाको ज्यान गएको थियो । धेरै भौतिक सम्पत्ति क्षति भयो ।

सिन्धुपाल्चोकलाई सरकारले सङ्कटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो । तर, बस्ती संरक्षण, स्थानान्तरण र पुनर्निर्माणका कुरा उठे पनि अहिलेसम्म काम भने हुन सकेको छैन । असार १ र साउन १६ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो ।

नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो । सयौँ स्थानीयवासी विस्थापित भए । उनीहरु हालसम्म अस्थायी टहरामै बस्दैआएका छन् । सुरक्षित वासस्थानको पर्खाइमा छन् । सरकारले घरबारबिहीनलाई ५लाखका दरले रकम उपलब्ध गराउने घोषणा गरेको थियो । उक्त निर्णय हालसम्म पनि कार्यान्वयन नहुँदा बाढी प्रभावितको बिचल्ली भएको छ ।

गत वर्षको बाढीले घरखेत बगाएर बेसहारा बन्नुभएका हेलम्बु–२ गणेशेबगरका गोरी तामाङको आँखा अझै ओभाएका छैनन् । बाढीले उउनको घर बगाएर लग्यो । भएको थोरै खेत पनि बगर बनेपछि परिवार सुुकुम्बासी बनेको छ । सरकारले घर बनाइदिने बताए पनि भएको जमिन बाढीले सखाप पारिदिएपछि भोकमरीमा परिन्छ कि भन्ने चिन्ता बाढीबाट प्रभावितको छ । हेलम्बु, मेलम्ची र पाँचपोखरीको गरी ५ सय ५१ घर बाढीले बगायोे ।

५ हजार ४ सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै ७ वटा झोलुङ्गे पुल, नौवटा पक्की पुल र ३३ वटा सार्वजनिक संरचना ध्वस्त भए । एक वर्षसम्म पनि अस्थायी टहरामुनि नै गुजारा चलाइरहेका बाढी प्रभावितहरू स्थायी घर बनाउन सरकारकै बाटो हेरेर बसिरहेका छन् । पक्की घर नबनाई रोजगारी तथा अन्य सिलसिलामा घरबाट बाहिरसमेत निस्किन नपाएको हेलम्बु गाउँपालिकाका लीलाबहादुर ज्योतिको भनाइ छ ।

बाढीपछि अर्काको घरमा भाडा तिरेर बसेकाको पनि घर बनाउने सपना सरकारकै कारण अझै अधुरो छ । घर र व्यवसाय बाढीले बगाएपछि मेलम्चीका हरिशरण श्रेष्ठलाई सुरक्षित ठाउँमा घर कहिले बन्ला भन्ने चिन्ताले सधैँ सताउने गरेको छ ।प्राकृतिक विपद्का हिसाबले देशकै उच्च जोखिममा रहेको यस जिल्लामा वर्षायाममा आउने बाढी, पहिरो तथा अन्य विपद्मा पूर्वसूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीको उचित व्यवस्थापनको कमजोरीले पनी बर्सेनि जनधनको क्षति हुने गरेको स्थानीयवासीको ठम्याइ छ ।

पूर्वसूचनाले ठूलो क्षति हुनबाट रोक्न सकिने अनुभव मेलम्ची बाढीले सिकाएको छ । सोको पूर्वतयारी र विस्थापित नागरिकको स्थायी आवास पुनःनिर्माणमा लागिपरेको स्थानीय सरकारका प्रमुख बताउँछन् । गत वर्षभन्दा केही तयारी गरे पनि पर्याप्त नभएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्यालजेन शेर्पाको भनाइ छ । निजी आवास निर्माणको प्रक्रिया अगाडि बढे पनि केही समस्याका कारण ढिलाइ भइरहेको शेर्पाले बताए ।

धेरै जना बाढी प्रभावितको सम्झौता भइसकेको र केही अहिले पनि भइरहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ बताए । खोलाको अतिक्रमण गरी घरलगायत अन्य संरचना निर्माण गर्ने, खेती लगाउने गरेका कारण पनि बाढीले तटीय क्षेत्रमा ठूलो क्षति पु¥याएको जानकार बताउँछन् । बाढीले खोलाको सतह झण्डै १५ देखि २५ फिटसम्म माथि बढेकाले आगामी दिनमा सामान्य बाढी पनि बजार र बस्ती क्षेत्रमा पस्ने सम्भावना छ ।

यसको समयमै व्यवस्थापन गर्ने र हिमाली क्षेत्रमा भएको परिवर्तनको उच्चस्तरीय अध्ययन हुनु आवश्यक रहेको बिज्ञहरुको तर्क छ । प्रदेश सरकार र स्थानीय सरकारबाट विनियोजित रकमले नदी नियन्त्रण तथा गहि¥याउन केही काम थाले पनि फेरि बर्खा सुरु भएसँगै आएको पानीले यी काम प्रभावित भएका छन् ।

मेलम्ची, इन्द्रावती, पाँचपोखरी जानका लागि ह्युमपाइप हालेर बनाइएको अस्थायी पुल पनि केही दिन अगाडि आएको बाढीले बगाएपछि अहिले यी क्षेत्रमा जानका लागि समस्या भएको छ । हेलम्बु गाउँपालिका–७ चनौटेमा भने नेपाली सेनाको सहयोगमा निर्मित बेलीब्रिजले भने केही सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्