
काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षबाट राजिनामा दिएका रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेशको तयारीमा जुटेका छन् ।
स्थानीय तहको निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै जेठ ११ गते उनले अध्यक्षबाट राजीनामा गरेका थिए । राप्रपाले दिने पदमा कुरा मिले मिश्र केहीदिनभित्रै उक्त पार्टी प्रवेस गर्ने स्रोतले जनाएको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनकै हैसियतमा अर्को अध्यक्ष बनाउनुपर्ने प्रस्ताव मिश्रले राखेका थिए । राप्रपाले त्यसलाई अस्वीकार गरेको थियो । निकट १ नेताका अनुसार त्यसपछि सहअध्यक्षको प्रस्तावसहित मिश्रले छलफल गरेका थिए ।
तर, राप्रपाले विवेकशील साझा पार्टी नै मर्ज हुने अवस्थामा उनलाई उपाध्यक्ष दिनेगरी छलफल अघि बढाइएको छ । महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा वार्ता समिति नै बनाएर राप्रपा छलफलमा जुटेको छ ।
विवेकशील साझा पार्टीबाट अलग भइसकेका मिश्रले सिंगो पार्टी नै लिएर आउन सक्ने अवस्था नभएकाले उनलाई वरिष्ठ उपाध्यक्ष पनि दिन नहुने आवाज राप्रपामा उठ्न थालेको छ ।
पार्टीको हैसितमा नभएर व्यक्ति मात्र प्रवेश गर्ने भन्दै मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिँदा संगठनभित्रको सन्तुलन बिग्रने जनाउँदै आएका छन् ।











