
काठमाडौं । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदुरको शव परिवारले बुझ्न मानेका छैनन् ।
कैलालीको लम्कीचुवा नगरपालिका–३ चिसापानीका ५० वर्षीय अमरबहादुर महतरा शनिबार मृत फेला परेका थिए । उनको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले शव बुझ्न नमानेका हुन् ।
कैलालीबाट उनकी श्रीमती कमला संखुवासभासभा आइपुगेकी छिन् । महतराको शव जिल्ला अस्पतालमा राखिएको छ । महतरा जेठ १२ गते अरुण तेस्रोमा काम गर्न आएका थिए ।
अरुण तेस्रोले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने महतरा परिवारको माग छ । मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिलाउन प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए ।
अरुण तेस्रोमा नेपाली र भारतीय गरी झण्डै तीन हजार मजदुर कार्यरत छन् ।











