
काठमाडौं । नेपाल पर्यटन वोर्डले नेपालमा पहिलोपटक महिलाका लागि जलयात्रा (रिभर गाईड) तालिम सुरु गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत तालिम दिएको हो । तालिम बुधबारदेखि सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित सुनकोसीमा १५ दिनसम्म चल्नेछ ।
महिलालाई नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सीज (नारा)ले निःशुल्क तालिम प्रदान गर्ने नेपाल पर्यटन वोर्डले जनाएको छ । तालिमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले पहिलो पटक महिलाका लागि मात्र आयोजना गरिएको यो तालिम जल पर्यटनको क्षेत्रमा कोसेढुङ्गा सावित हुने बताए ।
तालिमका रुपमा मात्र नलिई यस क्षेत्रमा नै आफ्नो भविष्य बनाउने गरी काम गर्न उनले सहभागिलाई आग्रह गरे । युएनडिपीकी कल्पना सरकारले कोभिड–१९ पछि पर्यटन मजदुर सबैभन्दा समस्यामा परेकाले उनीहरूको जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको बताइन् ।
तालिमले महिला शक्तिकरण, रोजगारी सिर्जनासँगै यस क्षेत्रमा भएको जनशक्तिको कमीलाई परिपूर्ति गर्ने उहाँको भनाइ थियो ।












