
काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालाई ‘एसपीपी’बारे छलफल गर्न बोलाएको छ ।
नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि संसदीय समितिले प्रधान सेनापति शर्मालाई त्यसबारे जानकारी लिन बोलाएको हो ।
शुक्रबार बिहान ९ बजे बस्ने बैठकमा प्रधान सेनापति शर्मा छलफलका लागि सहभागी हुने छन् । नेपाली सेनाले एसपीपीमा हस्ताक्षर गरेको भन्दै आलोचना भइरहेको बेला समितिले शर्मालाई छलफलका लागि बोलाएको हो ।
बुधबार अमेरिकी दूतावासले नेपाल यसअघि नै एसपीपीको अंग भइसकेको जानकारी गराएको थियो । दूतावासका अनुसार नेपालले सन् २०१५ र २०१७ दुईपटक आवेदन दिएपछि २०१९ मा अमेरिकाले त्यसलाई स्वीकृत गरेको जानकारी दिएको छ ।
दूतावासको धारणा सार्वजनिक भएको भोलिपल्ट बिहीबार तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले काठमाडौंस्थित अमेरकी दूतावासलाई स्टेट पार्टनरसिपमा सहभागी हुन पत्र लेखेको सार्वजनिक भएको थियो ।














