
काठमाडौं । पाकिस्तान सरकारले घरेलु बजारमा पेट्रोल डिजेलमा दिइरहेको सब्सिडी खारेज गरेसँगै त्यहाँ पेट्रोल र डिजेलको मूल्य आकासिएको छ ।
इन्धनको मूल्यमा एकैपटक २९ प्रतिशत बढेको हो । पाकिस्तान सरकारले राज्यकोषको घाटा कम गर्न र नगद संकटबाट प्रताडित अर्थतन्त्रलाई त्राण दिन यस्तो कदम उठाएको समाचारमा दाबी गरिएको छ ।
अब पाकिस्तानमा पेट्रोल प्रतिलिटर २३३.८९ र डिजेल प्रतिलिटर २६३.३१ रुपैयाँ पुगेको छ । यस्तै, मट्टितेल प्रतिलिटर २११.४७ रुपैयाँ पुगेको छ । प्रधानमन्त्री शहवाज सरिफ नेतृत्वको सरकारले करिब २० दिनमा इन्धनमा दिइने अनुदानमा गरेको यो तेश्रो कटौति हो ।
आइएमएफले पाकिस्तानलाई आर्थिक सहायता गर्नका लागि इन्धनमा सरकारले दिने अनुदान खारेज गर्नुपर्ने पहिलो शर्त राखेको थियो । त्यसपछि पाकिस्तान सरकारले अनुदान खारेज गरेको हो ।












