काठमाडौं । नेकपा एमालेले नेपाली सेनाप्रति प्रश्न उठाएको छ । नेपाली सेनाले सरकार र रक्षामन्त्रीसँग छलफल गरेरै अमेरिकालाई पत्र लेखेको जनाएपछि एमालेले प्रधानसेनापति प्रभुराम शर्मालाई प्रश्न गरेका हुन् ।
बिहीबार नेपाली सेनाले अमेरिकी एसपीपीमा सहभागी हुनेबारे अमेरिकालाई लेखेको पत्र सार्वजनिक भएको थियो । त्यसको पुष्टि गर्दै त्यसबेला सरकारसँग छलफल गरेरै पत्र लेखिएको सेनाले जनाएको थियो ।
एमाले सांसद प्रदीप ज्ञवालीले कुन सरकारले सेनालाई एसपीपी कार्यक्रममा सहभागी हुन भनेकाे हो ? भन्नेबारे प्रधानसेनापति प्रभुराम शर्मालाई प्रश्न गरे ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा ज्ञवालीले प्रधानसेनापतिलाई अहिले भ्रम रहेकाले स्पष्ट गर्नका लागि भनेर कुन सरकार र कुन प्रधानमन्त्रीले स्वीकार गर्न अनुमति दिएको हो भनेर सोधेका हुन् ।
यस्तै एमालेका नेता एवं पुर्वरक्षामन्त्री ईश्वर पोखरेलले पनि अमेरिकालाई पत्र लेख्ने बेला सेनाले सरकारलाई कहिले सोध्यो ? भन्दै प्रधानसेनापति शर्मालाई प्रश्न गरेका थिए ।
नेता पोखरेलले अमेरिकालाई सेनालाई पत्र लेख्न रक्षा मन्त्रालयले सकारात्मक प्रतिक्रिया दिएको भनिएकोमा प्रश्न गरेका हुन् । उनले प्रधानसेनापतिसँग प्रश्न गर्दै भने, ‘२०७२ भदौ २४ गते सेनाले पत्र लेखेको र असोज १३ गते रक्षाले सकारात्मक रूपमा लिएको भनिएको छ त्यसबेला को रक्षामन्त्री र प्रधानमन्त्री थिए रु’ क्रमिक रूपमा कसको के भुमिका थियो त्यो पनि बताउनुपर्ने उनको भनाइ थियो ।
उनले नेपाली सेनाले विभिन्न देशका सेनासँग हरेक वर्ष सैन्य अभ्यास गर्दै आएको बताउँदै यसलाई कुनै सैन्य गठबन्धन अन्तरगत राखेर अभ्यास हुन लागेको हो कि भन्ने कुराले गम्भीर बनाएको उनको भनाइ थियो । उनले भने, ‘यदि यस्तो गठबन्धन हुने हो भने स्वीकार्य हुन्न ।’
एमालेले कांग्रेस नेतृत्वको सरकारले स्वीकृति दिएको आरोप लगाइरहेको छ । तर, एसपीपी स्विकार्न सेनाले पत्र लेखेको समयमा प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली थिए । ओली पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ कार्तिकमा एसपीपीका लागि पत्र लेखिएको थियो ।











