Logo
Logo

प्रेम प्रस्ताव आउनु स्वभाविकै हो-शिल्पा मास्के, अभिनेत्री


- दृष्टि न्युज/संवाददाता


‘म खाशै फेसन कन्सस होइन, सेलिब्रेटी बनेपछि बाध्यता हुँदोरै’छ’ सुरुमै अभिनेत्री शिल्पा मास्केले फेसनप्रति आफ्नो धारणा व्यक्त गरिन् । शिल्पा अभिनित पछिल्लो फिल्म ‘सानो मन’ गत शुक्रबारबाट प्रदर्शन भइरहेको छ । उक्त फिल्ममा शिल्पाले अभिनेता आयुषमान देशराजसँग अनस्क्रिन रोमान्स गरेकी छन् । आफू अभिनीत फिल्मको प्रमोशनकै क्रममा ललितपुरको मानभवनस्थित ‘आईआईएफटी स्कुल अफ फेसन’को उद्घाटन गर्न पुगेकी अभिनेत्री शिल्पाले आफूले अभिनय गरेका फिल्ममध्ये ‘सानो मन’ उत्कृष्ट रहेको सुनाइन् । अभिनय, फेसन, प्रेम, रोमान्सजस्ता विषयमा खुलेर प्रस्तुत भएकी शिल्पा यसअघि फिल्म ‘ब्रेकअप’ र ‘कागजपत्र’मा देखिएकी थिइन् । तर, खाशै चर्चामा आइनन् । ‘क्यारेक्टर रोल’ गर्न रुचाउँने शिल्पा हालैमात्र बेलायतबाट अध्ययन सकेर आएकी हुन् । आगामी दिनमा फिल्म क्षेत्रमै सक्रिय हुने उद्देश्य लिएकी अभिनेत्री शिल्पासँग एमपी सुब्बाको जम्काभेट :

व्यस्तताका बाबजुद उद्घाटन कार्यक्रममा आउन कसरी भ्याउनुभयो ?

हो, मेरो फिल्म ‘सानो मन’ शुक्रबारदेखि सिनेमा हलमा चलेको छ । म फिल्मको प्रमोशनमै व्यस्त छु । यहाँ आउनुको कारण फिल्म प्रमोशनसँगै म मा फेसनप्रति रुचि बढ्दै जानु पनि हो । अर्को कुरा, नेपालमा खाशै आर्ट तथा फेसनसम्बन्धी कलेज र इन्ष्टिच्युटहरु पनि छैनन् । नेपालमा अब फेसन र आर्टसम्बन्धी इन्ष्टिच्युटहरुको संख्या बढ्नुपर्छ ।

तपाइँ फेसनप्रति बढी कन्सस हो ?

पहिले खाशै फेसन कन्सस थिइनँ । तर, सेलिब्रेटी भएपछि बाध्यता हुँदोरै’छ किनकि, सेलिब्रेटीले लगाएको पहिरनलाई नै अरुले अंगिकार गर्ने हुन् । हामीले नै फेसनमा ध्यान दिएनौँ भने सर्वसाधारणले कसरी फेसनसम्बन्धी बुझ्ने ? त्यसैले पछिल्लो समय फेसनमा ध्यान दिन थालेकी छु ।

‘सानो मन’बाट दर्शकको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?

फिल्म सिनेमा हलमा लागेको दुई दिनमात्र हुँदैछ । तर, यो दुई दिनको रिपोर्ट र प्रतिक्रिया एकदमै राम्रो छ । भर्खरैमात्र पनि सिनेमा हलमा दर्शकसँग प्रतिक्रिया बुझेर आएकी हुँ ।

‘सानो मन’मा कसरी जोडिनु भयो ?

म बेलायतका थिएँ । ‘सानो मन’ फिल्मका लागि ‘सानिया’ क्यारेक्टर चाहिएको रहेछ । त्यसकै सिलसिलामा अफर मलाई आयो । कथावस्तु सुन्दा मनप¥यो पनि । त्यसपछि बेलायतबाट नेपाल आएँ । सुयोग सर (फिल्मका निर्देशक)ले ओके भनेपछि जोडिन पुगेकी हुँ । फिल्ममा ‘सानिया’को क्यारेक्टर गरेकी छु ।

तपाइँ बेलायतमै बस्नुहुन्छ कि ?

होइन, अध्ययनका लागि गएकी थिएँ । अध्ययन सकेर बसेकै बेला ‘सानो मन’मा प्रस्ताव आएको हो । अब यतै बस्छु ।

‘सानो मन’ कस्तो फिल्म र दर्शकले किन हेर्ने ?

फेमिली ड्रामा फिल्म हो । फिल्मको संगीतपक्ष पनि राम्रो र त्यसैले सानो मनलाई म्युजिकल्ली फिल्मभन्दा फरक पर्दैन । यस फिल्मले दर्शकलाई रुवाउँने, हँसाउने र नचाउँने सबै गर्छ । समग्रमा भन्नुपर्दा फिल्म हेरेर करिब दुई घण्टा दर्शकले पूर्ण मनोरञ्जन पाउनेछन् ।

तपाइँका यसअघिका र यो फिल्ममा के फरक छ ?

यसअघि ‘ब्रेकअप’, ‘कागजपत्र’ र अहिले ‘सानो मन’ गरी तीन वटा फिल्मका काम गरेँ । तीन वटै फिल्ममा मैले क्यारेक्टर रोल गरेकी छु । मलाई मनपर्ने रोल पनि क्यारेक्टर नै हो । ‘ब्रेकअप’ पनि राम्रो थियो । तर, बक्स अफिसमा राम्रो व्यापार गरेन । त्यसैले चर्चा भएन ।

‘ब्रेकअप’ र ‘कागजपत्र’लाई छाडौँ, अब यो फिल्मले आफ्नो करिअरमा केही गर्ला भन्ने अपेक्षा गर्नुभएको छ ?

पक्कै पनि । फिल्म सिनेमा हलमा लागेको दुई दिन भयो । राम्रो रेश्पोन्स आइरहेको छ । फिल्म प्रमोशनमा हामी टिम नै लागेका छौँ । अवश्य यो फिल्म मेरो लागि प्लस प्वाइन्ट हो ।

दर्शकले प्रेम प्रस्ताव त अवश्य राख्लान् । के भन्नुहुन्छ ?

त्यो स्वभाविक हो । मलाई खुसी लाग्छ । फ्यानका हिसाबले माया गर्छु भन्दा सकरात्मक रुपमै लिन्छु ।

हिँडडुल गर्दा वा सामाजिक सञ्जालबाट पनि प्रस्ताव त थुप्रै आउला नि ?

एकजना केटी मान्छेलाई, केटाको प्रेम प्रस्ताव आउनु स्वभाविक मान्छु । तर, मैले कसैको प्रेम स्वीकारेकी छैन । अहिलेसम्म म सिंगल छु । अझै केही समय सिंगल बस्ने मन छ ।

प्रतिक्रिया दिनुहोस्