चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताएका छन् ।

शक्रुबार यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले यो कार्यक्रममा एमसीसीजस्तो १२ बुँदा जारी गरेर पास गर्ने काम नहुने बताए । अध्यक्ष प्रचण्डले भने, ‘एमसीसी १२ बुँदा घोषणासहित मात्रै पास ग¥यौँ तर एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छ ।’
एमसीसी र एसपीपी दुवै परियोजना एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारको समयमा आएको उनले आरोप लगाए । उनले भने, ‘एमसीसी र एसपीपी परियोजना केपी ओली नेतृत्वको सरकारको समयमा आएको हो । यो एसपीपी परियोजना खारेज हुन्छ ।’
अहिलेको गठबन्धन फेरबदलको कुरा छ नि भन्ने पत्रकारको प्रश्नमा उनले तत्काल गठबन्धन हेरफेर नहुने बताए । अध्यक्ष प्रचण्डले भने, ‘अहिले गठबन्धन जे हो त्यही जान्छ ।’ पार्टीका एक/दुई मान्छे लाग्ने कुरा बेग्लै भएको भन्दै उनले अहिले पार्टीमा त्यस्तो नभएको बताए ।











