काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपालले कुनै पनि हालतमा सम्झौता गर्न नहुने बताएका छन् । एसपीपी सम्झौताबारे बाहिर आएको मस्यौदा नेपालको हितमा नरहेको रायमाझीको भनाइ छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पूर्वउपप्रधानमन्त्री समेत रहेका उनले भने, ‘एसपीपीको ऐतिहासिक पृष्ठभूमिको बारेमा अझै प्रष्ट र यथार्थ बाहिर आइसकेको छैन । अमेरिकाको प्रस्ताव हो कि नेपाल आफैँले प्रस्ताव गरेको हो ? को–को त्यहाँ संलग्न थिए भन्ने यथार्थ विवरण आएको छैन ।’
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय समितिले सबै वास्तविकता माग गरेको बताउँदै उनले भने, ‘कुन तिथि, मिति र कसको पालामा कस्ता प्रस्ताव गएका थिए र कस्ता प्रस्ताव आएका थिए भन्नेबारे समितिले माग गरेको छ । सबै डिटेल आएपछि चर्चा र छलफल गर्न सक्छौँ । अहिले धारणा राख्नु अपुरो हुन्छ ।’
उनले दलहरूले अब एकआपसमा हिलो छ्यापाछ्याप गर्न नहुने धारणा राख्दै भने, ‘यसो गर्दा देशले समृद्धि पाउँदैन । सुशासन पाउन्न । विकास र समृद्धिको कमन एजेण्डामा छलफल गर्नुपर्छ । सत्ता प्राप्तिको लागि जस्तो प्रकारको गठबन्धन पनि गर्ने, जस्तो प्रकारको सम्झौता पनि गर्ने काम भएको छ । तर, राष्ट्रियता र समृद्धिको पक्षमा कम चर्चा छ । यो विषय गौण बनाइएको छ । एसपीपी अस्वीकार गर्नुपर्छ । यो राष्ट्रको हितमा छैन ।’
अहिले विश्व राजनीति नै तरङ्गित बनेको अवस्था रहेको बताउँदै उनले भने, ‘विश्वव्यापी रूपमा टक्कर भइरहेको छ, दुनियाँका मुलुकहरू विभाजित रूपमा गएका छन् । हामीले सन्तुलित विदेशी नीति अपनाउनुपर्छ । हामी कुनै देशतर्फ ढल्कनुहुँदैन । घोषित नीतिभन्दा बाहिर जानुहुँदैन । दलहरूले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ ।’
उनले अन्तर्राष्ट्रिय नीतिबाट विचलित भएमा नेपालकै कारण पनि विश्वयुद्ध निम्तिन सक्ने बताउँदै भने, ‘यदि हामी आफ्नो नीति र अडानमा अडिग रह्यौँ भने त्यो विश्वयुद्ध पनि रोक्न सकिन्छ । देश सानो वा ठुलो भएर हुँदैन । नीतिमा अडान हुनुपर्छ ।’











