Logo
Logo

भूमिहीनलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन


819
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले भूमिहीनलाई जग्गा वितरणको कामलाई प्रमुख प्राथमिकतामा राखेर अघि बढाउन निर्देशन दिएका छन् ।

शनिबार राष्ट्रिय भूमि आयोग, काठमाडौँको आयोजनामा बुटवलमा भएको जिल्ला समितिका पदाधिकारीका लागि लुम्बिनी प्रदेशस्तरीय गोष्ठीको उद्घाटन गर्दै मन्त्री खाणले जनतालाई सम्पत्तिको मालिक बनाउन भूमिहीनलाई तत्काल जग्गा वितरण गर्न आवश्यक रहेको बताए ।

सरकारले राजनीतिक पूर्वाग्रह राखेर यसअघिको भूमि आयोग खारेज गरेको नभई संविधानले व्यवस्था गरे अनुरुप सबै प्रक्रिया पूरा गरेर भूमि समस्या समाधान गर्न नयाँ आयोग गठन गरेको उनको भनाइ छ ।

‘सरकारका तर्फबाट के गर्नुपर्छ, सबै सहयोग गर्न हामी तयार छौँ, तपाइँहरु काम गर्नुस्’ उनले भने । स्थानीय तहका नयाँ जनप्रतिनिधि पनि आफ्नो पालामा भूमिहीनको समस्या समाधान होस् भन्ने दृढताका साथ लागिपरेको उल्लेख गर्दै उनले आयोग र स्थानीय पालिकाको समन्वयमा अव्यवस्थित बसोबास र भूमिहीनको समस्या समाधानका लागि तत्काल अघि बढाउन सुझाव दिए ।

लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले लालपुर्जा वितरणको काम छिटो थाल्न आयोगका पदाधिकारीसँग आग्रह गर्दै प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए ।

आयोगका अध्यक्ष केशव निरौलाले आयोगले सबै प्रक्रिया पूरा गरी छिट्टै भूमिहीनको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्