Logo
Logo

आफ्नै प्रश्नको जवाफ दिने जिम्मा बालेन र हर्कलाई


आनन्द श्रेष्ठ


प्रमुख राजनीतिक दलका उम्मेदवारलाई सजिलै पराजित गरेर काठमाडौं महानगपालिकाको मेयर बनेका बालेन्द्र साह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कसरी काम गर्दैछन् भन्ने सबैको चासो छ । बालेन र साम्पाङहरूलाई विगतभन्दा फरक ढंगले काम गर्नुपर्ने दबाब छ ।

बालेनले आफ्नो सम्पूर्ण ध्यान काठमाडौंको फोहोरको अस्थायी व्यवस्थापनमा लगाएका छन् । फोहोर व्यवस्थापन गर्न उनी प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका नेतालाई भेट्ने मात्र होइन, प्रभावित क्षेत्र सिसडोलका स्थानीयबीच पनि पुगे ।

काठमाडौं महानगरपालिकाको पहिलो नगरकार्यपालिका बैठक विवादित बनेपनि दोस्रो बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो । पहिलो बैठकमा बालेनलाई प्रक्रिया सिकेर आउन चेतवानी दिने वडाध्यक्षहरू दोस्रो बैठकमा सहयोगी देखिए ।
यता, धरान उपमहानगरपालिकाको पहिलो नगर कार्यपालिका बैठकमा मेयर साम्पाङले खोलाको ढुंगा, गिट्टी, वालुवा ठेक्कामा लगाउन दिन्नँ भनेपछि विवाद भयो ।

त्यही विवादका कारण बैठक नै स्थागित भयो । तर, दोश्रो बैठकमा भने मेयरले सवैको कुरा धैर्यतापूर्वक सुनेर अभिभावकत्व लिएपछि वडाध्यक्षहरू खुसी भए !

काठमाडौं र धरानको नगर कार्यपालिकाको दोस्रो बैठक सहज रुपमा अगाडि बढ्नुमा संचारमध्यामको भूमिका देखिन्छ । बैठक स्थानीय संचारमाध्यममा प्रत्येक्ष प्रशारण हुने भएकाले सहभागीहरु अनुशासित देखिन्थे ।

यसअघि बैठकको यसरी प्रत्येक्ष प्रशारण हुँदैनथ्यो । तर, अहिले प्रत्येक्ष प्रशारण हुने भएपछि सबै जनप्रतिनिधिहरू जिम्मेवार ढंगले प्रस्तुत हुने गरेका छन् ।

स्वतन्त्र उम्मेदवारहरूले गरेको यो प्रयोग अन्य पालिकाले पनि गर्दा सार्वभौमसत्ता सम्पन्न नागरिकले सुसूचित हुने मौका पाउने थिए । साथै, बैठक एजेन्डामा केन्द्रित हुने थियो ।

आफ्नै प्रश्नको जवाफ दिने जिम्मा

नगरको समस्या र विकासमा यसअघि प्रश्न तेस्र्याउने बालेन र हर्कहरू अहिले काम गर्ने र जवाफ दिने ठाउँमा पुगेका छन् ।
विगतमा आफैँले उठाएका प्रश्नको जवाफ कामबाट दिनुपर्ने ठूलो चुनौती उनीहरू सामू छ । त्यसका लागि दलीय आधारमा जितेका उममेयर र वडाध्यक्ष तथा नगर कार्यपालिकाका सदस्यहरूलाई साथमा लिएर अगाडि बढ्न सक्नुपर्छ ।

बाबुराम भट्टराई र केपी ओली प्रधानमन्त्री बन्दा जनताले कसरी हाई हाई गरेका थिए । र, जनअपेक्षाअनुसार काम गर्न नसक्दा उनीहरूविरुद्ध जनता कसरी जाइलागेका थिए भन्ने हेक्का बालेन र हर्कले राख्नुपर्छ ।

स्थानीय जनताका समस्या र आशा धेरै भएकाले काम गर्न नसकेको अवस्थामा जनतामा निराशा उत्पन्न हुने र विद्रोह पनि त्यति नै छिटो हुन्छ । त्यसैले बालेन र हर्कहरूले बेलैमा सचेत हुनुपर्छ र सोही अनुसार आफ्नो कामलाई अगाडि बढाउनुपर्छ ।

सुरुवाती चरणमा धेरै जनताको साथ बालेन र हर्क जस्ता स्वतन्त्रबाट निर्वाचित मेयरलाई छ । हिजो डा. बाबुराम भट्टराई र केपी शर्मा ओली प्रधानमन्त्री बन्दा जनताले कसरी हाई हाई गरेका थिए र, जनअपेक्षाअनुरुप काम नभएपछि उनीहरुविरुद्ध जनता कसरी जाइलागे भन्ने हेक्का हरेक जनप्रतिनिधिलाई हुन आवश्यक छ ।

आक्रामक सुरुवात

धरानको पहिलो बैठक विनानिष्कर्ष टुंगिएपछि दोश्रो बैठकमा त्यस्तो नहोस भन्ने उद्देश्यले मेयर साम्पाङले आफ्ना समर्थकहरूलाई नगरपालिका अगाडि प्ले कार्ड बोकेर धर्ना दिन लगाए ।

धर्ना देखेर वडाध्यक्षहरूले बैठक नै बहिष्कार गरे । खोलाको गिट्टी, वालुवा ठेक्कामा नलगाए नगरको आम्दानीको श्रोतमा असर पर्ने बडाध्यक्षहरूले बताएपछि मेयर साम्पाङले ढुंगागिट्टी नबेच्दा आम्दानी सुकेर उपमहानगरपालिका गाविस भएपनि होस् सम्म भन्न भ्याए ।

उनको यो अभिव्यक्ति निकै चर्चित बन्यो । विकासको अडान राम्रो भएपनि प्रस्तुतिकरण राम्रो नभएको भन्दै केहीले आलोचना पनि गरे । तर, जनताले ढिलासुस्तीको अन्त्य र प्रभावकारी रुपमा काम खोजेकाले अधिकांशले साम्पाङको अभियानमा साथ दिए ।

मेयर साम्पाङले पानीको समस्या समाधान गर्ने आफ्नो पहिलो काम भएको बताउँदै आएका छन् । तर, खानेपानी बोर्डको अध्यक्षको कुर्सीमा आफैँ पुग्दा समाधान त्यति सहज नभएको आभाष गर्न थालेका छन् । त्यसैले आफै भन्न थालेका छन्–‘समस्या चुट्की बजाउने बितिक्कै कहाँ समाधान हुन्छ र ? काम गर्न दिनु प¥यो नि ।’

वास्तवमा धरानका मेयर भाग्यमानी छन् । उनले कुर्सी सम्हाल्दा वर्षायाम शुरु भयो । वर्षामा धरानमा पानीको समस्या हुँदैन । पूर्व मेयरहरूले खानेपानी बोर्डमा पार्टीका कार्यकर्ताहरूलाई कर्मचारी बनाएर भर्ना गरिदिँदा वितरण प्रणालीमा समस्या आएको मात्र हो ।

अब उनले एकजना महाप्रवन्धक नियुक्त गरेर अघि बढ्ने हो भने धरानमा पानीको समस्या समाधान हुन्छ । फोहोरमैला व्यवस्थापनको लागि कारखाना संचालनमा आइसकेको छ ।

बसपार्कको काम पनि पाइप लाइनमा छ । अन्य चानचुने विकासे काममा उनले जनतालाई आह्वान मात्र गर्ने हो भने सवै धरानेहरूले सहयोग गर्ने बचन दिएका छन् ।

वीपी प्रतिष्ठानको समस्या समाधान गर्न उनले वर्तमान उपकुलपतिलाई नैतिकताको आधारमा राजीनामा गराउन सके भने मात्र पनि उनको ठूलो सफलता देखिने छ ।

उता, बालेनले काठमाडौंमा सार्वजनिक शौचालयको समस्या समाधान गर्न होटल, बैंक जस्ता निजी निकायको साथ पाएका छन् । यो सामान्य जस्तो देखिए पनि महानगरपालिकाको खर्च जोगाउने, ढलको समस्या समाधान गर्ने जस्ता विषयमा निकै महत्वपूर्ण सावित हुनेछ ।

काठमाडौंको जनगुनासो सुन्न कल सेन्टरको स्थापना पनि बालेनले एक हप्ताभित्रै गरिदिएका छन् । काठमाडौंमा सार्वजनिक शौचालयको अभाव छ ।

हजारौँ पर्यटक आउने शहरमा सार्वजनिक शौचालय नहुनु राम्रो कुरा होइन । भएका शौचालय पनि दुर्गन्धित छन् । त्यसलाई व्यवस्थापन गर्नुपर्छ ।

भृकुटीमण्डपलगायत सार्वजनिक ठाउँका सडक पसललाई पुरानो बसपार्कमा बन्दै गएको भवनमा व्यवस्थापन गर्नुपर्छ ।

उपमेयरप्रति आशा

धरानका उपमेयरमा गठबन्धनको सहयोगमा विजयी भएका नेकपा (माओवादी केन्द्र)का युवा नेता अईन्द्र विक्रम वेघा विजयी भएका छन् । सबैसँग मिल्न सक्ने स्वभावका वेघा मिलनसार, मेहनती छन् । हर्कको खरोपन र अईन्द्रको मिजासीलोपनले धरानको विकासमा सबैको हातेमालो हुने विश्वास अधिकांशको छ ।

अईन्द्रले जित्ने वित्तिकै वीपी पार्क, मनमोहन पार्क र नेकपा एमालेका पूर्व मेयरहरू स्व. तारा सुब्बा, स्व. ध्यानबहादुर राईको शालिकमा माल्यार्पण गरेर उनले सबैको साझा प्रतिनिधि रहेको सन्देश दिएका थिए ।

मेयर हर्क आफ्नै पारामा कहिले झाडु लिएर भानुचोक कहिले खोलानालाको निरीक्षणमा निस्की रहँदा उपमेयर वेघा भने काठमाडौं गएर अर्थमन्त्रीसँग धरानको विकासे योजनामा बजेट पार्न लविड गरिरहेका थिए ।

उनको पहलमा अर्थमन्त्री जनार्दन शर्माले धरानको विकासमा २० करोडको विकासे बजेट पारिदिएका छन् । मेयर र वडाध्यक्षहरूबीचको चर्काचर्की मिलाउन पनि उपमेयरले भूमिका खेलेका थिए ।

काठमाडौंका स्वतन्त्रले मेयर जिते पनि उपमेयरमा सुनिता डंगोलको जितलाई पनि सकारात्मक प्रतिक्रिया आएको छ । डंगोलले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न सक्ने विश्वास छ । उनले पनि समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन् ।

सिसडोलमा मेयर बालेन र स्थानीयबासीबीच भनाभन हुँदा तनावग्रस्त स्थितिलाई साम्य पार्न सुनिताले भूमिका खेलेका थिए । स्वतन्त्रबाट विजयी मेयरलाई समन्वय र सहकार्यमा दलबाट निर्वाचित उपमेयरले आगामी दिनमा पनि ठूलो भूमिका खेलेर उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्