Logo
Logo

संसदीय समितिको बैठकमा किन गएनन् प्रधानमन्त्री ?


756
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नगएकामा सांसदहरुले प्रश्न उठाउँदै आपति जनाएका छन् ।

अमेरिकासँग स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी)का बारेमा छलफलका लागि प्रधानमन्त्री देउवालाई आइतबार बैठकमा बोलाइएको थियो । तर, प्रधानमन्त्री देउवा भने समितिको बैठक छल्दै गठबबन्धनको बैठकमा सहभागी भएका छन् ।

प्रधानमन्त्री देउवा कुनै जानकारीविनै बैठकमा उपस्थित नभएपछि समितिकी सभापति पवित्रा निरौलाले प्रधानमन्त्रीबाट संसदीय समितिको अपमान भएको बताइन् ।

आइतबार बसेको समितिको बैठकमा सभापति निरौलाले प्रधानमन्त्रीसँग आज बिहान पनि बैठकमा सहभागिताका लागि आफूले आग्रह गरेको तर प्रधानमन्त्रीले औपचारिक पत्र नपाएको जवाफ दिएको जानकारी गराइन् ।

उनले भनिन्, ‘यसरी ताकेता गर्दा पनि प्रधानमन्त्रीज्यूले बैठकमा नआएर संसदीय समितिकै अपमान र अवहेलना गर्नुभयो ।’ बैठकमा काँग्रेस सांसद पुष्पा भुसालले प्रधानमन्त्री बैठकमा सहभागी हुने तर आजका सन्दर्भमा भने व्यस्तताका कारण आउन नसकेको बताएकी थिइन् ।

एसपीपीका बारेमा छलफलका लागि प्रधानमन्त्री देउवालाई बोलाइएको थियो । समितिको यसअघि बसेको दुई वटा बैठकमा यस विषयमा छलफल भइसकेको छ । प्रधानमन्त्री देउवालाई छलफलका लागि आइतबार बोलाउने निर्णय समितिले यसअघि नै गरेको थियो ।

तर, आजै सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणबारे छलफल भएको बताइएको छ ।

प्रतिनिधिसभा बैठकमा पनि एसपीपीका बारेमा सांसदहरुले प्रश्न उठाएका छन् । रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र संसदीय समितिमा यसबारे अहिलेसम्म आफ्नो धारणा राखेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्