
कास्की । सेती नदीमा आएको बाढीले पोखराका २ वडा जोड्ने मोटरेवल पुलमा क्षति भएको छ ।
पोखरा–२५ हेमजा र वडा–१९ पुरुनचौर जोड्ने गरी मर्दीदोभानभन्दा तल सेती नदीमाथि बनाइएको ट्रष्ट पुलमा बाढीले क्षति पुर्याएपछि यातायात बन्द भएको छ । जसका कारण जिल्लाको माथिल्लो भेगका नागरिक प्रत्यक्ष प्रभावित भएका छन् ।
पुलको जगभन्दा तलबाटै नदीले कटान गरेपछि पिल्लर कोल्टिएर ट्रष्ट पुल पूर्णरुपमा क्षति भएको डिभिजन सडक कार्यालय पोखराले जनाएको छ । पुलबाट अब मानिस हिँडडुल गर्नसमेत जोखिम भएको स्थानीयले बताएका छन् ।
५ वर्षअघि निर्माण गरेको सो पुल ७२ मिटर लामो र ७ मिटर फराकिलो छ । पुलको पुरुनचौरपट्टी पिल्लरसँगैको एप्रोज नदीले बगाएको छ ।सेती नदीको बाढीका कारण माछापुच्छ्रे गाउँपालिका–२ का केही गाउँसँगको सडक सम्पर्क विच्छेद भएको छ ।
सार्दिखोलाबाट चिप्लेटी हुँदै भरावरी र काभ्रे जाने सडक बाढीका कारण कटान भएपछि यातायात अवरुद्ध भएको स्थानीय शिक्षक सन्तोष आचार्यले बताए ।











