Logo
Logo

बाघले भरियो खोर


441
Shares

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् । हाल कसरामा २ र सौराहामा २ खोरमा बाघ रहेका छन् ।

थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा रहेका बाघलाई छोड्नु वा अन्यत्र पठाउनुको विकल्प नभएको निकुञ्जले जनाएको छ ।
निकुञ्जको मुख्य कार्यालय कसरामा २ वटा खोरमा बाघ छन् ।

तीमध्ये एउटा बाँकेबाट ल्याइएको झण्डै ८ वर्षको भाले बाघ हो । दोस्रो निकुञ्जकै देवनगर वेलसहर सामुदायिक वनमा २ वर्षअघि नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ हो ।

निकुञ्जको वन्यजन्तु अस्पताल सौराहामा यही वैशाख २७ गते राप्तीबाट नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ । निकुञ्जका अनुसार भरतपुरको राधाकृष्ण सामुदायिक वनमा गएको बिहीबार नियन्त्रणमा लिइएको अन्दाजी ७ वर्षको भाले बाघ वन्यजन्तु अस्पतालको खोरमा राखिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार कसरामा २ बाघ अट्ने गरी एउटा खोर बन्दै छ । झण्डै १ महिनामा सक्ने गरी काम भइरहेको उनले बताए ।

‘तत्काल बाघ नियन्त्रण गर्नुपर्ने भएमा हामीसँग ठाउँ छैन । भइरहेकालाई अवस्था हेरेर छोड्नुको विकल्प छैन,’ उनले भने, ‘यसवर्ष धेरै बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आएकाले समस्या भएको हो ।’ चालू आर्थिक वर्षमा हालसम्म बाघको आक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।

संख्या बढेका कारण बाघ धेरै देखिएको र घटना भएको अनुमान गरिएको छ । सन् २०१८ मा गरिएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ थिए ।

प्रतिक्रिया दिनुहोस्