Logo
Logo

खडेरीले रोपाइँ गर्न समस्या


882
Shares

फाइल फोटो ।

बैतडी । समयमै वर्षा नहुँदा किसानलाई रोपाइँ गर्न समस्या भएको छ । आकाशे पानीको भरमा धान रोप्दै आएका यहाँका किसान खडेरी लागेपछि चिन्तित बनेका हुन् ।

यहाँ अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको छ । ब्याडमा बीउ छिप्पन लागे पनि पानी अभावमा खेत बाँझै रहेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका किसान मानसिंह विष्टले बताए । ‘यहाँ कुलो लाग्दैन । त्यसैले आकाशे पानी पर्खिरहेका छौँ । अहिलेसम्म गाभो गाडेको छैन,’ उनले भने, ‘बेर्ना नै सुक्न थालिसके । ’

जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ । हालसम्म बढीमा १५ प्रतिशतमा मात्रै रोपाइँ भएको अनुमान कृषि ज्ञान केन्द्रको छ । बेसीक्षेत्र तथा सिँचाइ सुविधा भएका क्षेत्रमा मात्रै रोपाइँ भएको केन्द्रका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

‘रोप्नका लागि बनाइएको बेर्ना १ महिनासम्म रोपिसक्नुपर्छ,’ उनले भने, ‘यो अवधिमा रोप्न सकिएन भने उत्पादन कम हुन्छ ।’ ढिला रोप्दा रोगकिराको समस्या देखा पर्ने गर्दछ । ‘समयमा रोप्न सकिएन भने पछि गएर धानमा रोगकिराले आक्रमण गर्ने, टुप्पो सुक्नेजस्ता रोग देखा पर्छन् र उत्पादनमा ह्रास आउँछ,’ उनले भने ।

सुर्नया नदी किनार, चौलानी नदी किनार, पुर्चौडीको हाट, पाटन, पञ्चेश्वरलगायतका बेँसी क्षेत्रमा रोपाइँ भए पनि अन्य क्षेत्रमा बाँकी छ । पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी र सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरालाई धानखेतीको पकेट क्षेत्र हुन् ।

प्रतिक्रिया दिनुहोस्