Logo
Logo

अर्का करोडपति नासु अख्तियारको फन्दामा




काठमाडौं । तल्लो तहमा जागिर खाएर अकुत सम्पत्ति आर्जन गर्ने अर्का एक कर्मचारी अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । गत वर्ष अवकाश पाएका नायव सुव्वा गणपति झासँग साढे दुई करोड रुपैयाँ अकुत भेटिएको छ । उनीविरुद्ध आयोगले बुधबार बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।


२०३९।०८।०९ मा गा.वि.स.सचिव (रा.प.अनं.द्वितीय) पदबाट सार्वजनिक सेवामा प्रवेश गरी तत्पश्चात विभिन्न पद तथा कार्यालयमा कार्यरत रही मिति २०७८ साल श्रावण महिनाबाट अवकाश पाएका थिए । यो अवधिको समग्र आय÷व्यय हेर्दा आय/आर्जनतर्फ पारिश्रमिक बचत, जग्गा बिक्री, विभिन्न बैंक तथा कर्मचारी संचयकोषको ऋण, कृषि आय, सवारी साधनको आय, वीमा म्याचुरीटि र न्यू थ्री ब्रदर्स एण्ड बिल्डर्स नामको फर्मबाट प्राप्त आय समेत गरी जम्मा रु.२,४२,६७,१०४।५६ (अक्षरुपी दुई करोड वयालीस लाख सतसट्ठी हजार एकसय चार रुपैया र पैसा छपन्न) आय÷आर्जन गरेको र व्ययतर्फ जग्गा खरिदमा, विभिन्न बैंकबाट लिएको ऋणको साँवाब्याज, विभिन्न प्रकारका सवारी साधन (जेसिवी, स्कार्पियो, बोलेरो, ट्याक्टर) समेत खरिद, घर निर्माण, अध्ययन खर्च, करुणाकर इन्टरप्राइजेज, न्यू थ्री ब्रदर्स एण्ड बिल्डर्स र नीति कन्सट्रक्सनसमेतका व्यवसायिक फर्म तथा कम्पनीको दर्ता तथा सञ्चालनमा, कृषि उपकरण खरिदसमेत गरी रु.४,८७,३८,२१०।०७ (अक्षरुपी चार करोड सतासी लाख अठ्तीस हजार दुइसय दश रुपैया र पैसा सात) खर्च तथा लगानी गरेको देखिएको छ । यसरी निज गणपति झाको समग्र आय रु.२,४२,६७,१०४।५६ बाट समग्र व्यय रु.४,८७,३८,२१०।०७ घटाउँदा हुन आउने रु.२,४४,७१,१०५।५१ (अक्षरुपी दुई करोड चौवालीस लाख एकहत्तर हजार एक सय पाँच रुपैया र पैसा एकाउन्न) बराबरको खर्च तथा लगानी (सम्पति) को वैधानिक स्रोत खुल्न नआएको हुँदा निज गणपति झाले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सोही दफा १५ ले लक्षित गरेको सोही ऐनको दफा ३ एवं सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निज गणपति झालाई बिगो रु.२,४४,७१,१०५।५१ (अक्षरुपी दुई करोड चौवालीस लाख एकहत्तर हजार एकसय पाँच रुपैया र पैसा एकाउन्न मात्र) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ दफा ३ को कसुरमा तथा दफा २९ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद तथा जरिवाना गर्न साथै साबिक भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १६ग., दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिमध्ये श्रोत नखुलेको रु.१,७५,१३,३२३।५८ मूल्य बराबरको सम्पत्ति तथा सोही सम्पत्तिमध्ये आंशिक रुपमा श्रोत खुलेको रु.६३,७३,५५५।८१ मूल्य बराबरको सम्पत्ति एवं बाँकी अपुग विगो गणपति झाको नाममा रहको नेपाल इन्भेष्टमेण्ट वैङ्क लिमिटेडको मौज्दातबाट रु.५,८४,२२६।१२ समेत गरी जम्मा रु.२,४४,७१,१०५।५१ जफत गर्न माग गरि मुद्दा दायर गरिएको छ । झाले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत आफ्नी एकासगोलकी पत्नी मीनादेवी झा एवं एकासगोलका छोराहरु दिवाकर कुमार झा, शिवाकर कुमार झा र करुणाकर कुमार झाको नाममा राखेको देखिएको हुँदा निजहरुको नाममा रहेको सम्पत्ति प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम जफत गर्ने प्रयोजनका लागि मात्र मीनादेवी झा, दिवाकर कुमार झा, शिवाकर कुमार झा र करुणाकर कुमार झालाई समेत प्रतिवादी कायम गरी आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।


केहीदिनअघि मात्र आयोगले पूर्व नासु भिमकान्त भण्डारीविरुद्ध ६ करोड २४ लाख बिगोको मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्