
काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एयरले पनि उडान भर्ने भएको छ ।
हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको अल्ट्रा लो कस्ट एस वायुसेवाले भैरहवाबाट यूएईको आबुधाबी उडान भर्ने तयारी गरेको हो । भैरहवामा विज एयरले एयरबसको ३२१ निओ सिरीजको जहाज सञ्चालनमा ल्याउने योजना बनाएको छ ।
विजको १९० सिट क्षमताको उक्त जहाज नेपालमै पहिलोपटक उडान गर्न लागेको हो । उक्त जहाज एयरबस कम्पनीले उत्पादन गरेको पछिल्लो संस्करणको जहाजमध्ये १ रहेको बताइएको छ ।
विज एयरको मिडिल इस्टमा एसिया हब अबुधाबीमा रहेको र आफूहरु एयर बस ३२१ नियो सिरिजको जहाजमार्फत उडान सेवा दिने तयारीमा रहेको वायुसेवाको नेपालका लागि आधिकारिक जीएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रवीचन्द्र सिंहले बताएका छन् ।
‘हाम्रो देशको आधारभूत विकल्प भनेको पर्यटन हो, धार्मिक पर्यटन प्रवद्र्धनलाई लक्षित गरी सेवा विस्तारमा लाग्ने हाम्रो सोच छ,’ उनले भने ।














