Logo
Logo

काभ्रेका स्थानीय तहमा डेढ अर्बसम्मको बजेट


राजकुमार पराजुली / पेमा लामा

189
Shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहले आर्थिक वर्ष २०७९/८० का लागि नीति, कार्यक्रमका साथै बजेट सार्वजनिक गरेका छन् । छ नगरपालिका र सात गाउँपालिका रहेको यस जिल्लाका अधिकांश तहले अधिवेशन गरी आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् ।

धुलिखेल नगरपालिकाले आगामी आवका लागि रु एक अर्ब ३५ करोडको बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख अशोक व्याञ्जुले प्रस्तुत गरेको बजेटमा चालुतर्फ रु ६४ करोड तीन लाख आठ हजार छ भने पूँजीगततर्फ रु ७० करोड ५६ लाख ९२ हजार र वित्तीय व्यवस्थातर्फ रु ४० लाख रहेको छ । 

उनले नगरले आगामी आवका लागि सङ्घ र प्रदेश सरकारले लिएको आर्थिक तथा वित्तीय नीति, अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले गरेको नीतिगत व्यवस्था, स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शनले निर्दिष्ट गरेका आधारलगायत नगरको विषयगत क्षेत्रगतको नीतिको आधारमा बजेट प्रस्तुत गरिएको बताए ।

स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, महिला तथा बालबालिका, अपाङ्ग, ज्येष्ठ नागरिक, सामाजिक सुरक्षा र सामाजिक समावेशीतातर्फको नीति तथा कार्यक्रम प्रस्तुत गरिएकोे थियो । त्यस्तै पूर्वाधारअन्तर्गत खानेपानी तथा सरसफाइ, सडक पूर्वाधार, भवन आवास तथा सहरी विकास, पर्यटन विकास, कृषि विकास, पशु विकास, सहकारी विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, गरिबी न्यूनीकरण तथा रोजगारी तथा उद्यम विकास, सूचना, सञ्चार तथा प्रविधि, सेवा प्रवाह, संस्थागत विकास तथा सुशासन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध, राजश्व परिचालन र सार्वजनिक सम्पत्तिको संरक्षण तथा व्यवस्थापनलगायत विषय पनि समेटिएको छ ।

नमोबुद्ध नगरपालिकाले ले आव २०७९/८०का लागि रु ७४ करोड ४८ लाख ४५ हजार ९९७ बराबरको बजेट सार्वजनिक गरेको छ नमोबुद्धको दोस्रो नगरसभाको पहिलो अधिवेशनमा नगरप्रमुख कुन्साङ लामाले नीति तथा कार्यक्रम र नगर उपप्रमुख रत्नबहादुर लामाले बजेट पेस गरेका हुन् ।

प्रस्तुत बजेटमा चालुतर्फ रु १७ करोड ४८ लाख सात हजार ९९७ र पूँँजीगततर्फ रु ५७ करोड ३८ हजार विनियोजन गरिएको छ । आयतर्फ आन्तरिक आय रु चार करोड ७२ लाख ५१ हजार ३५३, बागमती प्रदेश सरकारबाट प्राप्त अनुदानमध्ये वित्तीय समानीकरण अनुदान रु एक करोड नौ लाख एक हजार, राजश्व बाँडफाँट रु दुई करोड ६६ लाख ५५ हजार, ससर्त अनुदान रु दुई करोड ३६ लाख छ हजार, विशेष अनुदान रु ८० लाख र समपूरक अनुदान रु तीन करोड रहेको छ ।

यस्तै सङ्घीय सरकारबाट प्राप्त अनुदानमध्ये वित्तीय समानीकरण अनुदान रु ११ करोड ८७ लाख, राजश्व बाँडफाँट रु नौ करोड २८ लाख ४९ हजार, ससर्त अनुदान रु ३१ करोड ९९ लाख, समपूरक अनुदान रु एक करोड रहेको छ भने अन्य आयतर्फ रु तीन करोड २२ लाख तीन हजार ६४४ रहेको छ ।

यसैगरी खर्चतर्फ चालु खर्च रु १७ करोड ४८ लाख सात हजार ९९७ र पूँजीगत खर्च रु ५७ करोड ३८ हजार रहेको छ । नगरले सम्पूर्ण वडामा वडागत योजना तथा कार्यक्रम कार्यान्वयन गर्न जनसङ्ख्या, क्षेत्रफल र राजश्व सङ्कलनलाई मूल आधार मान्दै सूत्रमा राखी जम्मा एकमुष्ट रकम रु चार करोड बजेट विनियोजन गरेको छ । वडागत वित्तीय समानीकरण अनुदान रु २० लाखका दरले सबै वडाका लागि एकमुष्ट रु दुई करोड २० लाख बजेट विनियोजन गरिएको छ ।

पनौती नगरपालिकाको ११औँ नगरसभामा नगरप्रमुख रामशरण भण्डारीले आव २०७९÷८० का लागि प्रस्तुत गर्नुभएकोे नीति, कार्यक्रममा सुशासन र संस्थागत विकास, वन तथा वातावरण, सूचना तथा सञ्चार भाषा, साहित्य, कला र संस्कृति, पूर्वाधार निर्माण, युवा तथा खेलकुद, बालमैत्री स्थानीय शासन र विशेष सामाजिक सुरक्षा, पर्व र कला, महिला, दलित र अपाङ्गता, शिक्षा, स्वास्थ्य, सहकारी, प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि तथा पशुपन्छीका विषयलाई प्राथमिकता दिइएको छ । नगरसभाले शुक्रबार नै प्रस्तुत नीति कार्यक्रम पारित गरेको थियो ।

यस्तै उपप्रमुख गीता बञ्जाराले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ६० करोड १३ लाखको अनुमानित बजेट प्रस्तुत गरिन् । जस्मा चालुतर्फ रु ७४ करोड २८ लाख ८० हजार, पूँजीगततर्फ रु ८५ करोड ४९ लाख २० हजार र वित्तीय व्यवस्थातर्फ ३५ लाख विनियोजन गरिएको छ ।

यसैगरी बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले पनि शुक्रबार नै नगरसभा तथा दसौँ अधिवेशन सम्पन्न गरेको छ । नगरप्रमुख आगामी आव २०७९/८० का लागि नीति, कार्यक्रम र उपप्रमुख विमला सापकोटा दाहालले अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो । उपप्रमुख दाहालले आगामी आवका लागि रु एक अर्ब ५५ करोड २४ लाख अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।

सो क्रममा नगरप्रमुख शाक्यले विषयगत रुपमा पूर्वाधार विकासतर्फ भवन, विद्युत्, शिक्षा, सञ्चार, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, लैङ्गिक समानता र सामाजिक समावेशीकरणतर्फ महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, युवा तथा खेलकुद, उत्पीडित तथा दलित उत्थान, आदिवासी जनजाति उत्थान, संस्कृति संरक्षणको विषयमा नयाँ नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

त्यस्तै आर्थिक विकासतर्फ कृषि तथा पुश विकास, पर्यटन, उद्योग वाणिज्य, सहकारी विकास, वन तथा वातावरण, विपद् व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, भूमि व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्ध, स्थानीय स्रोत परिचालन, नीति, कानुन, न्याय तथा सुशासन लगायतका विषयमा नयाँ नीति तथा कार्यक्रमलाई अघि सारेको छ ।

पाँचखाल नगरको ११औँ नगरसभाबाट आगामी आव २०७९/८० को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । सभामा नगर उपप्रमुख सूर्यमाया दनुवारले आगाम वर्षका लागि रु एक अर्ब २९ करोड ९६ लाखको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो । जसअन्तर्गत ससर्त अनुदान, विशेष अनुदान, समपूरक अनुदान, प्रदेश सरकार समपूरक र अनुदान, सडक बोर्ड, सामाजिक सुरक्षा गरी रु ५३ करोड ३७ लाख, ९७ हजार तथा बाँडफाँट योग्य ७६ करोड ५८ लाख ८९ हजार रहेको छ ।

त्यस्तै पाँचखालको पूँजीगत खर्चमा रु ९४ करोड ६८ लाख ३८ हजार तथा चालुतर्फ रु १६ करोड, ससर्त योजनाका लागि रु १९ करोड २८ लाख ३८ हजार गरी कूल रु एक अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास भएको हो ।

प्रतिक्रिया दिनुहोस्