काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै युवा संघ नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा मन्त्रालयमै बिचौलिया प्रवेश गराएको र पछि सीसीटीभी फुटेज डिलिट गरेको आरोप लगाउँदै युवासंघले काठमाडौंका सिंहदरबारमा नजिक हनुमानस्थानमा विरोध प्रदर्शन गरेको हो । उनीहरुले अर्थमन्त्रीले व्यापारीलाई पोस्ने काम गरेको भन्दै राजीनामा दिनुपर्ने माग गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले ‘सीसीटिभि फुटेज खाने अर्थपूर्ण मुसा’, ‘गठबन्धनको सेटिङ्मा बजेट आयो’ लगायत लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।
युवा संघ नेपालका किरण पौडेलले अर्थमन्त्रीलाई कारवाहीस्वरुप वर्खास्त नै गर्नुपर्ने बताए । उनले छानविन समिति बनाए अर्थमन्त्रीलाई नै चोख्याउने काम हुने भएकाले समितिको कुनै औचित्य नभएको धारणा बताए ।
युवा संघले अर्थमन्त्रीको राजीनामा नआएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ ।











