काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि ११ सदस्यीय संसदीय समिति गठन गर्ने सहमति भएको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेको मागअनुसार अर्थमन्त्रीमाथि छानविन गर्न संसदीय छानविन समिति गर्न लागिएको हो । सभामुख अग्निप्रसाद सापकोटा अगुवाईमा बसेको सर्वदलीय बैठकमा संसदीय छानविन समिति बनाउने सहमति जुटेको हो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ११ सदस्यीय समिति बनाउने टुंगो लागेको भए पनि नेतृत्व कसले गर्ने भन्ने टुंगो लागेको छैन । मितिको नेतृत्व कसले गर्ने, कति समयवधिको बनाउने तय गर्न छलफल भइरहको छ ।
११ सदस्यीय समितिमा एमालेबाट ४, कांग्रेसबाट २, माओवादी केन्द्रबाट २, एकीकृत समाजवादीबाट १, जसपाबाट १ र लोसपाबाट १ जना रहने सहमति भएको छ ।
बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिको प्रवेश र करको दर हेरफेरको विषय बाहिर आएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुरुदेखि नै संसदीय छानविनको माग गर्दै आएको थियो । यस विषयमा संसदमा अवरोधसमेत गरेको थियो ।
अहिले यस प्रकरणमा सीसीटीभी फुटेज नै मेटिएको जवाफ अर्थ मन्त्रालयबाट आएपछि चौतर्फी अर्थमन्त्रीको राजीनामा मागिएको छ। छानविनको माग उठिरहेको छ ।











