Logo
Logo

केत्तकुम लिबाङ पाङ्पत सयङद्वारा एक करोडको शैक्षिक अक्षयकोष स्थापना


0
Shares

काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गरेको छ। शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजित वेबसाइट विमोचन, शैक्षिक अक्षयकोष घोषणा तथा विद्यार्थी सम्मान कार्यक्रममा सयङले अक्षयकोष स्थापनाको औपचारिक घोषणा गरेको हो।

आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्दै जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीको उच्च शिक्षा, अनुसन्धान र सीप विकासमा सहयोग पुर्‍याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको सयङका अध्यक्ष लोकेश लिबाङले बताए। उनका अनुसार पाङ्पत लिबाङ वंशका सदस्यहरूको योगदानबाट अक्षयकोष स्थापनाको अभियान अघि बढाइएको हो।

अक्षयकोषबाट छात्रवृत्ति प्रदान गर्नुका साथै उच्च शिक्षा, अनुसन्धान, सीपमूलक तालिम, पुस्तकालय तथा अध्ययन केन्द्र स्थापना र आवश्यक शैक्षिक स्रोतसामग्रीमा सहयोग गर्ने योजना रहेको सयङले जनाएको छ।

कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने तीन विद्यार्थीलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा ३.७० जीपीए प्राप्त गर्ने मिक्वाखोला गाउँपालिका-३, लिबाङ, ताप्लेजुङकी श्रुती लिम्बू, ३.५० जीपीए प्राप्त गर्ने सोही स्थानका कमल कुमार लिम्बू र ३.४० जीपीए प्राप्त गर्ने चैनपुर, संखुवासभाकी वर्षा लिम्बू रहेका छन्।

प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा साहित्यकार तिलविक्रम नेम्बाङ ‘बैरागी काइँला’ले विद्यार्थीलाई जनही १० हजार रुपैयाँ नगद, प्रशंसापत्र र दोसल्लासहित सम्मान गरे। कार्यक्रमलाई सम्बोधन गर्दै बैरागी काइँलाले शैक्षिक अक्षयकोष स्थापना, विद्यार्थी सम्मान तथा वेबसाइट विमोचनजस्ता रचनात्मक कार्य महत्वपूर्ण रहेको बताए। यस्ता कार्यक्रमले विद्यार्थीमा अध्ययनप्रतिको उत्साह बढाउनुका साथै शिक्षा र ज्ञान आर्जनमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै पूर्व नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काइँला तिलविक्रम नेम्वाङुले ऐतिहासिक दस्तावेज निर्माणका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। उनले अक्षयकोष निर्माणका लागि गरिएको योगदानलाई असाधारण भन्दै शिक्षा क्षेत्रमा समुदायको विकास र उन्नतिका लागि निरन्तर प्रेरणा र योगदान आवश्यक रहेको बताए। साथै, यो पहल समुदायका लागि प्रेरणादायी र अनुकरणीय कार्य भएको उनको भनाइ थियो।

सोही अवसरमा सयङको आधिकारिक वेबसाइटसमेत सार्वजनिक गरिएको थियो। वेबसाइटमा संस्थाको इतिहास, वंशीय विवरण, संस्थागत संरचना, गतिविधि, शैक्षिक अभियान तथा भावी योजनालाई डिजिटल रूपमा अभिलेखीकरण गरिएको सयङले जनाएको छ।

सयङले आगामी दिनमा अक्षयकोषलाई थप विस्तार गर्दै योग्य तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई निरन्तर सहयोग गर्ने जनाएको छ। साथै नेपाल तथा विदेशमा रहेका पाङ्पत लिबाङ वंशका सदस्य, शुभेच्छुक तथा सहयोगीलाई अभियानमा जोडिन आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्