काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा टिकट वितरणका लागि नयाँ संरचना बनाउने भएको छ ।

सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको प्रतिवेदनमा निर्वाचन ब्युरोको परिकल्पना गरिएको छ । ब्युरोले निर्वाचन लड्ने उमेदवारहरूलाई टिकट दिने थापाले बताएका छन् ।
राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै थापाले भने, “योभन्दा पहिला टिकट कसरी दिइन्थ्यो, त्यतातिर नजाउँ । अब, त्यस्तो हुँदैन । ७५३ स्थानीय तहमा एक सय बढीमा महिलालाई प्रमुख पदमा उठाउँछौँ ।”
उनले पैसाले टिकट किन्ने कुरा पनि रोकिने बताए । “पैसाले टिकट किन्ने कुरा पूर्ण रूपमा रोक्छौँ । टिकट लिन एक रुपैयाँ लाग्दैन,” थापाले भने, “क्रियाशील सदस्यहरूको विवरण हाम्रो प्रणालीमा छ । हामीले अध्यावधिक गर्दा, टिकट वितरणमा आन्तरिक मतदान हुन्छ ।”
नेपाली कांग्रेसबाट स्थानीय तहमा उमेदवारी दिनेहरूले पार्टीका क्रियाशील सदस्य तथा शुभचिन्तकबाट सुरुमै अनुबन्धित हुनुपर्ने भएको छ । निर्वाचन ब्युरोले उमेदवारीको पहिचान र निर्वाचनसँग सम्बन्धित तयारी गर्ने थापाले बताएका छन् ।













