काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार २७ असारदेखि सुरु हुने भएको छ । एकीकृत कारोबार ‘नबिल बैंक लिमिटेड’ नामबाट हुनेछ ।

राष्ट्र बैंकको अनुमतिमा नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेको छ । नेपाल बंगलादेश बैंकको अब सम्पूर्ण सम्पत्ति तथा दायित्व नबिल बैंकले प्राप्त गरेको छ । त्यसैले साविकका दुवै संस्थाबाट सन्चालन हुँदै आएको वित्तीय कारोबार २७ असारदेखि एकीकृत रुपमा नबिल बैंकको नामबाट सुरु हुने राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जनाएको छ ।
यही १५ असारमा राष्ट्र बैंकको सन्चालक समितिले यी दुवै बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको थियो । स्वाप रेसियो १००ः४२ मा नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले गाभ्ने समझदारी भएको छ ।












