
पाँचथर । राष्ट्रिय गौरवको आयोजनाका पाँचथरको राँके–रवि–बुधबारे सडक कालोपत्रे लथालिङ्ग बनेको छ ।
भारतीय निर्माण कम्पनीको लापर्बाहीका कारण राँके–रवि–बुधबारे सडकले गति लिन नसकेको हो । पाँचथरको राँकेदेखि रवि– ६नम्बर बुधबारे हुँदै धनकुटाको भेडेटार जोड्ने १०३ किलोमिटर सडक कालोपत्र गर्ने म्याद सकिएको ७ महिना बितेको छ ।
तर, काम भने १९ प्रतिशत मात्रै भएको छ । मापदण्डअनुसार काम नभएकाले म्याद थप्न सक्ने अवस्था नरहेको कन्सलटेन्ट कम्पनी सिम्याटका इन्जिनियर स्वागत महर्जनले बताए । भारतीय कम्पनी एप्को इन्फ्रान्टले ३ करोड २६ लाख १८ हजारमा डलरमा उक्त सडक कालोपत्रेको जिम्मा लिएको थियो ।
निर्माण कम्पनीले श्रमिकलाई नियमित पारिश्रमिक दिएको छैन । इन्जिनियर महर्जनका अनुसार निर्धारित समयमा काम नसकिए पहिलो पटक थप्न ३० प्रतिशत काम गरेकै हुनुपर्छ । पूर्ण एकाइको ३० प्रतिशतभन्दा कम मात्रै काम गरेकाले म्याद थप्दा दैनिक ०.१ प्रतिशतका दरले जरिवाना नेपाल सरकारलाई तिर्नुपर्छ ।
एप्को इन्फ्रान्टका सञ्चालक जरिवाना तिरेर म्याद थप्ने मानसिकतामा देखिएका छैनन् । कोभिड–१९ र झरीका कारण ढिलो भएको एप्को इन्फ्रान्टका प्रोजेक्ट म्यानेजर राजु सिंहले दाबी गरे ।
उक्त सडक मेची राजमार्गको राँके बजारबाट सुरु भएर देउराली, घुर्विसे पञ्चमी, सप्तमी, रवि, चिसापानी पञ्चमी, कम्फुटार, लेकगाउँ हुँदै कोसी राजमार्गको भेडेटार पुगेर टुङ्गिन्छ ।











