काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठकबाट नागरिकता विधेयक फिर्ता लिने भएको छ । आज दिउँसो २ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकको कार्यसूचीअनुसार गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सरकारले नागरिकता विधेयक फिर्ता लिएर आजै नयाँ विधेयक संसदबाट फास्ट ट्र्याकमा अघि बढाउने तयारी गरेको छ ।
राज्य व्यवस्था समितिले नागरिकता सम्बन्धी विधेयकको छलफल टुंगो लगाएर प्रतिवेदन प्रतिनिधि सभामा बुझाएको थियो ।
उक्त प्रतिवेदनमा वैवाहिक अंगिकृत नागरिकता लिन चाहने व्यक्तिले नेपालमा निरन्तर ७ वर्ष बसोबास गरेको हुनुपर्ने व्यवस्था गरेको थियो ।
नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकार हुँदा २०७५ साल साउन २८ गते प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको नागरिकता सम्बन्धी विधेयक २०७७ साल असार ९ गते राज्य व्यवस्था समितिले संशोधन गरेर पारित गर्नका लागि पु¥याएको थियो ।
राज्य व्यवस्था समितिबाट उक्त विधेयक अघि बढाउँदा बहुमतको आधारमा अघि बढाइएको थियो । उक्त प्रावधानको मधेश केन्द्रित दलका सांसद र नेपाली कांग्रेसका सांसदहरूले विरोध गरेका थिए ।











