काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरमा जान सैद्धान्तिक सहमति दिएको छ । बुधबार पत्रमार्फत राष्ट्र बैंकले दुई बैंकलाई सहमति दिएको हो ।

राष्ट्र बैंकले एकापसमा गाभ्ने÷गाभिने (मर्जर) प्रयोजनका लागि सम्बन्धित विनियमावली २०७३ को चौथो संशोधनबमोजिम सहमति प्रदान गरेको हो । यससँगै अब अन्तिम स्वीकृतिका लागि दुवै बैंकले नेपाल राष्ट्र बैंकसमक्ष संयुक्त निवेदन पेश गर्नुपर्ने छ । साथै दुवै संस्थाले ऋण लिएको भएको ऋण दिने ऋणदाताका प्रतिलिपि, कर्मचारीको पद मिलान तथा सेवा सुविधाको निर्णय समेत पेश गर्नुपर्ने बताएको हो ।
यसअघि भएको सहमतिअनुसार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकका कर्मचारीको हैसियत बराबर हुने भएको छ । दुई बैंकबीच गत जेठ २७ गते मर्जरको सम्झौता भएको थियो । जसमा १००ः९० को स्वाप रेसियोमा सहमति भएको थियो । सो सहमतिअनुसार अब इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता सेयर हुने भएको छ ।
मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्ने सहमति भएको छ । मर्जरपछि बन्ने बैंकको सञ्चालक समिति अध्यक्षमा इन्भेष्टमेन्ट बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे र सीईओमा ज्योति पाण्डे हुने भएका छन् । त्यस्तै वरिष्ठ डेपुटी सिइओ रबिना देशराज श्रेष्ठ बन्ने भएकी छिन् ।
त्यस्तै आगामी ६ महिनाभित्रमा एकीकृत कारोबार सक्ने गरी मर्जर प्रक्रिया अघि बढाइने बताइएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले यसअघि हिमालयन बैंकसँग मर्जमा जाने प्रकृया अघि बढाएको थियो । तर उक्त सम्झौता भाडिएपछि इन्भेष्टमेन्टले मेगासँग मर्जरको सम्झौता गरेको हो ।
हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३१ करोड रुपैयाँ छ भने मेगा बैंकको १६ अर्ब १२ करोड रुपैयाँ छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४३ करोड रुपैयाँ हुनेछ ।












