Logo
Logo

आफ्नो प्राथमिकताविपरीत बालेन


5.1k
Shares

काठमाडौं । पछिल्लो समय प्राथमिकताविपरीत विभिन्न व्यक्तिको शालिक, टावर र प्रवेशद्वार लगायतमा बजेट खर्च गर्ने प्रवृत्तिलाई काठमाडौंका मेयर बालेन साहले पनि निरन्तरता दिएका छन् ।

काठमाडौंका मेयर साहले र्यापर यमबुद्धको शालिक बनाउन बजेट छु्ट्याएका छन् । साहको यस निर्णयले वडाध्यक्षहरु असन्तुष्ट बनेका छन् ।

मेयर बालेन साहले महानगरपालिकाको बजेटबाट १५ लाख रूपैयाँ यमबुद्धको शालिकका लागि बजेट छुट्याएका छन् । महानगरले आर्थिक वर्ष २०७९\ ८० को लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट अघि सारेको छ । यमबुद्दको शालिक निर्माणका लागि उक्त बजेटबाटै १५ लाख छुट्टाइएको हो ।

मेयर साह स्वयंले चुनावअघि काठमाडौंको फोहोरमैला, प्रदूषण, ट्राफिक समस्या लगायतलाई प्राथमिकता दिने र सहरको सांस्कृतिक पहिचान पुनर्जीवित गराउने खालका कार्यक्रमहरू ल्याउने भन्दै आएका थिए । तर, अहिले आएर आफ्नो प्राथमिकताविपरित शालिक निर्माणतिर उनी लम्किएका छन् ।

शुक्रबार उनले आफ्नो फेसबुकबाट यमबुद्धको शालिक निर्माणसम्बन्धी जानकारी सार्वजनिक गरेका थिए । तर, यसबारे सरसल्लाहसमेत नगरी एकतर्फी रूपमा प्रस्ताव ल्याएको एक वडाध्यक्षले बताए । वडाध्यक्षहरू कसैसँग सरसल्लाह नगरी महानगरको बजेटबाट यमबुद्धको शालिक निर्माण गर्ने निर्णयले महानगरभित्रै असन्तुष्टि देखिएको छ ।

बालेन साहको यस्तो घोषणापछि सामाजिक सञ्जालमा समेत धेरैले विरोध गरेका छन् । काठमाडौं महानगरले आफ्ना अनेक आवश्यकता र प्राथमिकताविपरीत शालिक निर्माणलाई अघि बढाएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् ।

यम बुद्ध नेपाली ¥याप क्षेत्रका अग्रज कलाकारका रुपमा चिनिन्छन् । उनले सन् २०१७ मा आत्महत्या गरेका थिए । बालेन साह यम बुद्दद्वारा संचालित ¥याप गायन सम्बन्धित कार्यक्रम ‘र बार्ज’ ¥याप ब्याटलमार्फत नै ¥याप क्षेत्रमा परिचित भएका हुन् ।

मेयर बालेनको सचिवालयका स्वकिय सचिव भूपदेव शाहले ¥यापर यमबुद्धको योगदानको कदर गर्दै शालिक निर्माण गर्न लागिएको बताए । उनले यमबुद्धको शालिक निर्माण गर्न महानगरबाटै बजेट राखेका र दसदेखि १५ लाख रूपैयाँसम्ममा शालिक बनाउने कार्यक्रम तय भएको बताए । तर, शालिक कहाँ स्थापना गर्ने भन्ने यकिन नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्