Logo
Logo

विराटनगर महानगरको बजेट पारित


189
Shares

मोरङ । विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको छ । महानगरको शनिबार बसेको १०औँ नगरसभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षको बजेटसँगै नीति तथा कार्यक्रम पारित गरेको हो । महानगरले यही असार १० गते आगामी आवका लागि तीन अर्ब ६२ करोड ५५ लाख ६७ हजारको बजेट सार्वजनिक गरेको थियो ।

बैठकमा महानगर उपप्रमुख शिल्पा निराला कार्कीले प्रस्तुत गरेको आगामी आवको आर्थिक विधेयक, विनियोजन विधेयक र महानगर खेलकुद विकास विधेयक पनि सर्वसम्मतिले पारित गरिएको छ । त्यसैगरी बैठकले केही महत्वपूर्ण नीतिगत निर्णयसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए ।

सोही बैठकले उपप्रमुख कार्कीको संयोजकत्वमा न्यायिक समिति र महानगर सदस्य बलराम कारञ्जितको संयोजकत्वमा लेखा समिति पनि गठन गरेको छ । न्यायिक समितिको संयोजक उपप्रमुख हुने संवैधानिक व्यवस्था छ । न्यायिक समितिको सदस्यमा वडा नं ११ का अध्यक्ष तीथेन्द्र न्यौपाने र वडा नं ९ का सदस्य रुपा देउजा चयन हुँदा लेखा समितिको सदस्यमा २ नं वडाका सदस्य मेनुका परियार र ९ नं वडाका सदस्य रियाज अहमदलाई सर्वसम्मतिले चयन गरेको बस्नेतले जानकारी दिए ।

महानगर प्रमुख नागेश कोइरालाले सबै वडाको समग्र विकासका लागि महानगरको आम्दानीको स्रोत वृद्धिका लागि राजस्व सङ्कलनको दायरा बढाइ एक अर्ब पुर्याउनुपर्नेमा जोड दिए। उनले भौतिक संरचना निर्माणसँगै खानेपानी, सरसफाइ, डुबान समस्या समाधानका लागि बजेटका विषयमा दातृ निकायसित छलफल भइरहेको जानकारी दिए ।

उपप्रमुख कार्कीले महानगरको आर्थिक अवस्था बलियो बनाउनुपर्ने अवश्यकता औँल्याए । बैठकमा वडा नं ४ का वडाध्यक्ष जितन थापा, वडा नं ७ का वडाध्यक्ष जितेन्द्र अग्रवाल,वडा नं १ का सदस्य लक्ष्मीदेवी राई, वडा नं ५ का वडा सदस्य अन्जु दाहाल, वडा नं ११ का सदस्य बलराम कारञ्जित लगायतले सडकबत्ती, सरसफाइ, डुबान समस्या, जनप्रतिनिधिका सेवासुविधालगायतका विषयमा धारणा राखेका थिइन ।

प्रतिक्रिया दिनुहोस्