Logo
Logo

अन्धकारसँग चुनौतीको अनुभव


सुलोचना


महेश दाइ हाम्रा अभिभावक, पथप्रदर्शक, गुरु हुनुहुन्थ्यो । एकाएक हामीलाई छोडेर उहाँ चीन जाने हुनुभयो । छात्रवृत्तिमा धेरै अघि नै चीनमा पढ्न जानु भएका महेशदाइ चीनको ‘सांस्कृतिक क्रान्ति’का कारण बीचैमा पढाई छोडेर नेपाल फर्किनु परेको थियो ।

त्यसबेला पढाई छुटेका विदेशी विद्यार्थीलाई सात आठ बर्षपछि चिनियाँहरुले फेरी बोलाएका रहेछन् । हिँड्नु अघि शुरुमा उहाँमा पनि काफि तनाव र दोधार देखेको थिएँ ।

‘आत्मसंघर्ष’गर्नु परेको कुरा मसँगको भेटमा भन्नु भएको थियो । पछि परिवारको दबाब पनि थपियो । अन्ततः जाने नै निर्णय गर्नु भएछ । चीन पुगे पछि बिषय नै फेरेर डाक्टरी पढ्न थाल्नुभएछ ।

उहाँको लागि जे भयो, बेसै भयो होला । तर हाम्रा लागि भने हिंड्दा हिंड्दैको बाटो एक्कासी हरायो । हामी पढ्ने उमेरका केटाकेटीहरुलाई ‘बुर्जुवा शिक्षा’ भन्दै पढाई छुटाएर आफूचाहिँ पढाइ पुरा गर्नै भनेर विदेशिनु भयो– पौडी खेल्न सिकिरहेका बच्चालाई सबभन्दा गहीरो पानीको माझमा छोडेर सिकाउने मान्छे हराए झैं ।

अब जसरी भए पनि पौडिएर किनारामा उत्रने, हैन भने डुबेर मर्ने जस्तो स्थिति आयो हाम्रो निम्ति । यसको प्रभाव मसँग जोडिएका सबै साथीहरुलाई पर्ने नै भयो ।

हामी तीन जनामध्ये महेश दाइको भरोसा ममा थियो । मेरो पनि विशेष आदर थियो । त्यसैले पनि आफै जीवन मरणको संघर्षबाट भर्खरै मात्र पार भएकी काँचो उमेरकी मसँग आफ्नै आत्मसंघर्षका कुरा समेत सुनाउनु भएको थियो ।

उहाँकै दिशानिर्देशले हाम्रो जीवनको बाटो निश्चित भएको थियो । ‘महान उद्देश्य’को निम्ति जीवनमा जस्तै अप्ठ्यारो आए पनि पार गर्छु भन्ने मनोबलमा उहाँप्रतिको विश्वासको ठूलै भूमिका थियो ।

तिलस्मीजस्ता लाग्ने भूमिगत नेता श्यामप्रसाद शर्मासँग हुने कहिलेकीँको भेटले मेरो आत्मविश्वास झनै चुलिन्थ्यो । जीवनमा जे पनि सम्भव छ भन्ने लाग्थ्यो– साथीहरुलाई समेत आँट र विश्वास बाँड्न सक्थें, संगठकका रुपमा । साथीहरु पनि पाइनसक्नु थिए– देश र जनताका निम्ति भनेपछि जे गर्न पनि तयार ! ज्यादै असल मन भएका । उस्तै इमान्दार ! उमेर थियो, जोश र होश सँगसँगै लिएर बढ्न सक्ने क्षमता थियो ।

महेशदाइले देश छोड्ने बेला अर्को एकजना संगठकको सम्पर्क दिनुभएको थियो । त्यो सम्पर्क न्यूरोडमा घर भएको एकजना बुद्धिजीवीको थियो । तर उनी महेश दाइजस्ता विवेकी र इमान्दार थिएनन् । व्यवहारिक पनि थिएनन् जस्तो लाग्छ ।

अविवाहित मान्छे, एक्लै एउटा सिंगो घरमा बस्ने गर्थे । त्यसैले हामीलाई त्यो घर पस्दा नै असजिलो महशुस हुन्थ्यो । गोप्य कुराकानी, एक्लो मान्छेसँगको भेटघाट …। भेटमा प्राय अष्ट र म हुन्थ्यौं, कहिलेकाहीँ एक्लै पनि । सुमनलाई पनि थाहा थियो, यो सम्पर्क । हामी तीन बाहेक अरु कसैलाई थाहा थिएन ।

भर्खरै भएको जीवन–मरणको संघर्ष र आमाको आँसुका कारण पनि म अत्यन्त संवेदनशील थिएँ । आफ्नो जिम्मा आफै लिनुपर्ने हुँदा जीउभरी आँखा बोकेर हिंड्थें । यो कुरा ती नयाँ मान्छेलाई पनि थाहा थियो । त्यसैले होला, मसँग नराम्रो व्यवहार त कहिल्यै गरेनन् । तर उनीसँगको भेटघाटबाट कहिल्यै कुनै उत्साह भने थपिएन ।

उनीसँग कुनै मार्गचित्र नै नभएको जस्तो लाग्ग्दै गयो र भेट पनि पातलिंदै गयो । हुँदाहुँदा भेटघाट नै बन्द भयो । धेरै समयपछि अष्टलक्ष्मीको आत्मकथा पढेपछि थाहा पाएँ– ती मान्छे ठीक नभएको कुरा । धन्न कुनै दुर्घटना हुन पाएन ।

हाम्रो अवस्था झन्–झन् विकट हुँदै थियो, २०३२ सालमा आइपुग्दा त अचानक अर्को विपद पनि थपियो । हामीमाथि पुलिसको निगरानी शुरु भइसकेछ । शुरुमा त मलाई केही थाहा थिएन । एकजना गुप्तचरले २४ घण्टा नै मेरो घर हेरेर बस्दो रहेछ ।

लगातार नचिनेको मान्छे चोकमा उभिएको उभियै भएपछि मन चीसो हुन थाल्यो । स्कूल जाँदा पनि, स्कूलको चौरमा पनि र फर्कदा पनि । त्यतिबेला बढि जिम्मेवारी बोक्नु पर्नेहुँदा पनि होला कतै केही नराम्रो हुँदैछ भने छैठौं इन्द्रियले पनि सूचना दिए झैं लाग्थ्यो ।

एकदिन बिहानै त्यस्तै लागेर अष्टलक्ष्मीकी कान्छी बहिनीलाई केही गोप्य सामग्री दिएर उनको घरमा पठाएँ । परिवार धेरै भएको, ठूलो र कसैले शंका नलाग्ने धनी परिवारको घर भन्ने लागेको थियो ।

मसँग भएका गोप्य पुस्तक, दस्तावेज र साहित्यिक नोटबूकहरु पनि आफूसँग केही नराखी उता पठाएकी थिएँ । तर त्यो घर पनि उनीहरुको चियोमा रहेछ– त्यही दिन राती त्यो घरमा छापामार्न पुलिसले घेरा हालेछ ! अर्को ठूलो खतराको घण्टी बज्यो ।

अष्टका बहिनीहरुले राती नै उनका भएभरका किताब, नोटबूक आदि भित्री चोकको इनारमा फालिदिएछन् ।

मैले बिहान पठाएका सामग्री पनि त्यसैमा परे । त्यो थाहा पाएपछि अरु कुराको हैन, छापिन बाँकी मेरा कविताहरुको पहिलो संकलन खसेकोमा भने पछिसम्म पनि दुःख लागिरह्यो । तर ज्यानभन्दा ठूलो अरु के हुन सक्थ्यो र !

बहिनीहरुको बुद्धिमानीप्रति कृतज्ञ हुनैपर्छ । दिदीलाई बचाउन भनेर बहिनीहरुले त्यो गरेका थिए, तर पछि थाहा भयो– त्यो रात अष्टलक्ष्मीलाई खोज्न हैन उनको काकाको छोरा गोपाल शाक्यलाई खोज्न पो आएका रहेछन् पुलिसहरु ।

त्योबेला युवा क्रान्तिकारीहरु– गोपाल शाक्य, प्रदीप नेपाल, माधव पौडेल र अरु केही युवा मिलेर शहरमा व्यापक पर्चा छरेका थिए, पंचायती व्यवस्था र राजतन्त्रकै विरुद्ध ।

हामीलाई थाहै थिएन, तर वामपन्थी बाटोमा लागेको छनक पाइसकेका पुलिसले हामीमाथि पनि कडै निगरानी राखेका रहेछन्– एउटै समूहका हुन् कि भनेर होला । धन्न त्यो रात मेरो घरमा भने पुलिस पसेन । तर पनि पुरै घेरीसकेको रहेछ ।

एउटा मान्छे ढोका छेऊ उभिएको र अर्को मान्छे घरको पछाडि सलाई कोर्दै रछ्यानमा हेर्दै गरेको देखें, पछाडिको झ्यालबाट । केही कागज भेटिन्छ कि भनेर खोजेको होला । मेरो जीऊ सिरिङ्ग भयो, शीताङ्ग भएँ ! कुनै पनि निहूँमा पुलिस भित्र पस्नसक्ने सम्भावना थियो । आमा, दिदी सुतिसक्नु भएको थियो । कसैसँग केही सल्लाह गर्न पनि मिल्दैन थियो ।

आफूसँग अझै बाँकी केही पुस्तक र कापीहरु लुकाउनु राम्रो ठानें र त्यही घर जोडिएको काकाको घरको कौशीमा राती नै पर्खाल नाघेर पुगें । अनि जस्ताको मुनि सबैकुरा लुकाई दिएँ ।

रात भर आफ्नो पहरा आफै बसें । त्यो रात पनि बिर्सिनै नसकिने रात भईदियो ! जीवन अझै चुनौतीपूर्ण हुँदै गयो, अँध्यारो त छँदैथियो … ।

प्रतिक्रिया दिनुहोस्