Logo
Logo

विश्वकप लिग–२ : नामिबिया स्कटल्याण्डसँग पराजित


189
Shares

एजेन्सी । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा स्कटल्याण्डले नामिबियालाई ३ विकेटले पराजित गरेको छ ।

घरेलु मैदानमा गएराति २१६ रनको लक्ष्य स्कटल्याण्डले ४८.५ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो । उसका लागि कलुम म्याक्लोयोड र क्रिस ग्रिभ्सले अर्धशतकीय पारी खेले । सफ्यान शरिफले अविजित ४०, म्याथ्युज क्रसले २९, जर्ज मुन्सेले १७ र मार्क वाटले ११ रन जोडे ।

नामिबियाका रुबेन ट्रम्पलम्यानले ३ तथा डेविड विसे, बेन शिकोन्गो र जान फ्राइलिंकले १/१ विकेट हात पारे । त्यसअघि ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २१५ रन बनाएको थियो ।

उसका लागि जन फ्राइलिंक र कप्तान गेर्हार्ड इरास्मसले अर्धशतकीय पारी खेले । ६० रनमा अविजित रहेका फ्राइलिंकले ४८ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । इरास्मसले ७२ बलमा समान दुई चौका र छक्कासहित ५६, जेजे स्मिथले २६ र डिभान ला ककले २३ रन जोडे ।

स्कटल्याण्डका गाभिन मेन र हेम्जा ताहिरले ३/३ तथा मार्क वाटले एक विकेट लिए । जितसँगै स्कटल्याण्ड २३ खेलमा ३२ अंकका साथ लिग–२ को दोस्रो स्थानमा रहँदा पराजित नामिबिया १७ खेलमा १६ अंकका साथ छैटौं स्थानमा छ ।

अब आफ्नो अन्तिम खेलमा नामिबियाले शनिबार तथा स्कटल्याण्डले आइतबार नेपालको सामना गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्