Logo
Logo

नयाँदिल्ली उड्नुअघि प्रचण्डले भने- मेरो चीन भ्रमण पनि छिट्टै हुनेछ


945
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार तीन दिने भ्रमणमा भारततर्फ प्रस्थान गरेका छन् ।

अध्यक्ष प्रचण्डले आफ्नो भारत भ्रमण राजनीतिक र सद्भावना भ्रमण रहेको बताए । उनले आफ्नो भारतसँगको सम्बन्ध सुधारमा सहयोगी हुने विश्वास व्यक्त गरे ।

दिल्ली उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफू चीन र भारतलगायत सबै देशसँग राम्रो सम्बन्धको पक्षमा रहेको बताए ।

अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपाल आउने कुरा र आफ्नो भारत भ्रमणबीच कुनै सम्बन्ध नरहेको प्रस्ट पारे । उनले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउने कुरा र म भारत जाने कुरासँग कुनै सम्बन्ध छैन । यो प्रस्ट पार्न चाहान्छु ।’

यस्तै, प्रधानमन्त्री पत्नी आरजु देउवाको भारत भ्रमण चलिरहेका बेला आफ्नो भ्रमण आकस्मिक रुपमा हुनुलाई संयोगमात्र भएको उनको भनाइ छ । अध्यक्ष प्रचण्डले भने, ‘उहाँको भ्रमणको उद्देश्य र मेरो भ्रमणको उद्देश्य फरक छ । मक्सद फरक–फरक हो । आजैमात्र प्रधानमन्त्रीसँग मैले सोधेको थिएँ । दिल्लीमा उहाँसँग (आरजु) भेट हुनसक्छ । तर, हाम्रो भ्रमणको मक्सद फरक–फरक छ ।’

यसैक्रममा उनले आफ्नो चीन भ्रमण पनि चाँडै हुने बताए । उनले भने, ‘भारत र चीन दुवै हाम्रो छिमेकी मुलुक ह्ुन् । हामी दुवै छिमेकीबाट सहयोगको उत्तिकै अपेक्षा गछौं । मेरो चीन भ्रमण पनि छिट्टै हुनेछ ।’

भारत भ्रमणमा अध्यक्ष प्रचण्डसहित तीनजना रहेका छन् । जसमा अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्ल, स्वकीय सचिव एवं छोरी गंगा दाहालमात्रै रहेका छन् ।

भारतीय सत्तारुढ दल भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड भारत भ्रमणमा निस्केको उनको सचिवालयले जनाएको छ । तीन दिने भ्रमणका क्रममा प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतका विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग भेटवार्ता गर्ने तालिका रहेको छ । अध्यक्ष प्रचण्ड आइतबार स्वदेश फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्