काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको वित्तीय जोखिम घट्नुको सट्टा थप पेचिलो बन्दै गएको देखिएको छ । खराब कर्जामा भएको वृद्धि, कुल कर्जाको ठूलो हिस्सा भाखा नाघेको अवस्थामा रहनु र पुँजी पर्याप्तता अनुपात न्यूनतम नियामकीय सीमा नजिक हुनुले बैंकको वित्तीय स्वास्थ्यमा दबाब बढ्दै गएको संकेत गर्छ । पछिल्लो वित्तीय विवरणले केही सूचकमा सुधार देखाए पनि बैंकका आधारभूत जोखिम भने कायमै छ ।

केयर रेटिङ्स नेपालको पछिल्लो साख मूल्यांकनले राष्ट्रिय वाणिज्य बैंकको बाहिरी आवरण सुरक्षित देखिए पनि भित्री वित्तीय जोखिमलाई गम्भीर रूपमा औंल्याएको थियो । बैंकको संस्थागत साख ‘ए प्लस’ मा पुनर्पुष्टि भए पनि शतप्रतिशत सरकारी स्वामित्व र सरकारले समय–समयमा दिने आर्थिक सहयोग बैंकको साखको महत्वपूर्ण आधार रहेको प्रतिवेदनले देखाएको छ ।
बैंकका लागि सबैभन्दा ठूलो चुनौती कर्जाको गुणस्तर बनेको छ । आर्थिक वर्ष २०८१÷८२ को अन्त्यमा ३.७९ प्रतिशत रहेको खराब कर्जा हालसम्म ४.४८ प्रतिशत पुगेको छ । बैंकको खराब कर्जामा भएको वृद्धि चिन्ताजनक देखिन्छ ।
त्यसमा अझ महत्वपूर्ण पक्ष बैंकको कुल कर्जामध्ये १४.४२ प्रतिशत हिस्सा ३० दिनभन्दा बढीको भाखा नाघेको श्रेणीमा रहनु हो । यस्तो कर्जा सबै खराब कर्जामा परिणत हुन्छ भन्ने होइन । तर ठूलो हिस्सा भाखा नाघेको अवस्थामा रहनुले कर्जाको गुणस्तरमाथि दबाब रहेको देखाउँछ । आर्थिक गतिविधिमा आएको सुस्तता र ऋणीहरूको भुक्तानी क्षमतामा आएको कमीका कारण यो जोखिम थप बढ्न सक्ने अवस्था छ ।
पुँजी पर्याप्तताको अवस्थाले पनि बैंकलाई सहज अवस्थामा देखाउँदैन । २०२६ को अप्रिल मध्यसम्म बैंकको पुँजी पर्याप्तता अनुपात ११.६० प्रतिशत मात्र थियो । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम सीमा ११ प्रतिशतको तुलनामा बैंकसँग ०.६० प्रतिशतको मात्र अन्तर थियो । खराब कर्जा थप बढ्ने वा बैंकको जोखिम बढ्ने अवस्थामा पुँजीमाथि दबाब पर्न सक्ने अवस्था यही तथ्यांकले देखाउँछ ।
यसबीच बैंकको पछिल्लो वित्तीय विवरणले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासिकसम्म पुँजी कोष अनुपात ११.४० प्रतिशत रहेको देखाएको छ । अघिल्लो आर्थिक वर्षमा रहेको अवस्थाबाट केही फरक देखिए पनि बैंकको पुँजीगत आधार अझै फराकिलो अवस्थामा पुगेको देखिँदैन ।
बैंकको आकार र कारोबारको तुलनामा यो विषय झनै महत्वपूर्ण हुन्छ । गत असार मसान्तसम्म बैंकको कुल निक्षेप ६ खर्ब ८६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ भने खुद कर्जा तथा सापट ३ खर्ब ४० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा निक्षेप ३७.११ प्रतिशत र कर्जा तथा सापट १२.५० प्रतिशतले बढेको छ ।
यसले बैंकसँग ठूलो स्रोत परिचालन गर्ने क्षमता रहेको देखाउँछ । तर ठूलो निक्षेप र कर्जा आकारसँगै जोखिम व्यवस्थापनको जिम्मेवारी पनि बढ्छ । कर्जाको आकार विस्तार भइरहँदा त्यसको गुणस्तर कमजोर भयो भने बैंकको वित्तीय स्वास्थ्यमा त्यसको असर थप गहिरिन सक्छ ।
पछिल्लो वित्तीय विवरणमा बैंकले ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको २ अर्ब ८३ करोड ६० लाख रुपैयाँको तुलनामा यो ६०.६८ प्रतिशतले बढी हो । तर नाफाको वृद्धि मात्रलाई बैंकको समग्र वित्तीय स्वास्थ्यको आधार मान्न सकिँदैन । बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ९६ करोड ६१ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १५ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ । करअघिको खुद सञ्चालन नाफा पनि ६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०८१÷८२ मा वितरणयोग्य मुनाफा नरहेको बैंकसँग आर्थिक वर्ष २०८२÷८३ मा १ अर्ब ७ करोड ६९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा देखिएको छ । यो सुधारलाई सकारात्मक मान्न सकिए पनि कर्जाको गुणस्तर र पुँजीको अवस्थालाई अलग राखेर हेर्न मिल्दैन ।
बैंकको कर्जा तथा निक्षेप अनुपात ५०.८७ प्रतिशत र असारको आधारदर ४.२० प्रतिशत रहेको छ । त्रैमासिक औसत आधारदर ४.२२ प्रतिशत छ । यसबीच बैंकले आफ्नो निक्षेप र कर्जा दुवै बढाएको छ । तर आगामी दिनमा कर्जा विस्तारभन्दा कर्जाको गुणस्तर कायम राख्नु बैंकका लागि बढी महत्वपूर्ण चुनौती बन्ने देखिन्छ ।
राष्ट्रिय वाणिज्य बैंकको समस्या वित्तीय सूचकमा मात्र सीमित छैन । निजी क्षेत्रका बैंकहरूले आधुनिक प्रविधि र आक्रामक बजारीकरणमार्फत प्रतिस्पर्धा बढाइरहेका बेला बैंकको सञ्चालन खर्च, कर्मचारी खर्च, दक्ष जनशक्ति व्यवस्थापन र बजारअनुकूल परिवर्तनको क्षमता पनि चुनौतीका विषय बनेका छन् । ग्रामीण क्षेत्रमा बैंकको पहुँच भए पनि त्यसबाट हुने आम्दानीको तुलनामा सञ्चालन खर्च बढी रहेको रेटिङ प्रतिवेदनले औंल्याएको छ ।
सरकारी स्वामित्व बैंकको बलियो पक्ष हो । तर यही स्वामित्वका कारण प्राप्त हुने सुरक्षा कवचलाई बैंकको संरचनागत कमजोरी ढाक्ने माध्यम बनाउनु दीर्घकालीन समाधान होइन ।
तर पुँजी थप्दैमा खराब कर्जाको समस्या समाधान हुँदैन । कर्जा असुली कमजोर रहने, जोखिमपूर्ण कर्जा थपिँदै जाने र सञ्चालन दक्षतामा अपेक्षित सुधार नहुने हो भने सरकारी पुँजीमाथिको निर्भरता बढ्दै जानेछ ।
त्यसैले राष्ट्रिय वाणिज्य बैंकका लागि अहिलेको मुख्य चुनौती नाफा बढाउनु मात्र होइन, बढ्दो कर्जाको जोखिम नियन्त्रण गर्नु हो । खराब कर्जा घटाउने, भाखा नाघेका कर्जाको प्रभावकारी व्यवस्थापन गर्ने, असुली प्रक्रियालाई तीव्र बनाउने र पुँजी कोषलाई थप बलियो बनाउने विषयमा बैंकले स्पष्ट सुधार देखाउनुपर्ने अवस्था छ ।
राष्ट्रिय वाणिज्य बैंक ठूलो सरकारी बैंक भएकै कारण सुरक्षित देखिन्छ । तर सुरक्षा र सबलता एउटै कुरा होइनन् । सरकारी स्वामित्वले तत्कालको जोखिम थेग्न सहयोग गर्न सक्छ, तर बैंकको आफ्नै कर्जाको गुणस्तर, पुँजी र व्यवस्थापन कमजोर हुँदै गए त्यसको भार अन्ततः राज्यकै काँधमा पर्नेछ ।
त्यसैले अहिले देखिएका जोखिमलाई सामान्य उतारचढाव मानेर पन्छाउने होइन, समयमै सुधारको दबाब सिर्जना गर्ने बेला हो । नाफाको अंकले केही राहतको संकेत गरे पनि खराब कर्जा, भाखा नाघेको कर्जा र साँघुरो पुँजी आधारले देखाएको जोखिमलाई बेवास्ता गर्ने हो भने राष्ट्रिय वाणिज्य बैंकको समस्या भविष्यमा अझ महँगो बन्न सक्छ ।













