
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । घरेलु मैदानमा स्कटल्याण्डका कलुम म्याकलोडले सर्वाधिक ६४ रन बनाए ।
कोएत्जरले अविजित ४४ रन जोडे । नेपालका कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले १–१ विकेट लिए । त्यसअघि ग्लास्गोस्थित टिटवुड मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाएर १२८ रन मात्र बनाएको थियो ।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४० रन बनाए । कप्तान सन्दीप लामिछानेले २२ रन बनाए । विनोद भण्डारी १३ तथा देव खनाल र रोहित पौडेल समान १० रन बनाएर आउट भए ।
स्कटल्याण्ड २४ खेलबाट ३४ अंक जोड्दै दोस्रो स्थानमा छ । ३ हार बेहोरेको नेपाल भने २० खेलबाट १७ अंकसहित छैटौं स्थानमा छ ।
शृंखलाअघि नेपालभन्दा पछि रहेको नामिबियाले नेपाललाई दुवै खेलमा हराउँदै १८ खेलबाट १८ अंक जोडेर नेपाललाई पछि पारेको छ ।











