
दार्चुला ।अपिहिमाल गाउँपालिका–२ का गोविन्दसिंह कार्की सानैदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउँछन् ।
महिना दिन खोजेको यार्साले वर्षभरीलाई खर्च पुग्ने उनले सुनाए । खेतीपाती गरेर वर्षभरि खान पुग्दैन । यार्सागुम्बा खोज्न १ महिना कडा मेहनत गरे वर्षभरि खान लगाउन पुग्ने उनी बताउँछन् ।
‘यसपाली यार्सागुम्बाबाट ४ लाख कमाइ भयो,’ उनले भने, ‘जङ्गलमै वर्षभरिको कमाइ हुन्छ भने मजदुरी गर्न भारत किन जानुप¥यो, त्योबाहेक सानातिना काम गाउँका योजनामा गरिन्छ ।’
यार्सागुम्बाकै कारण पछिल्लो समय भारतमा मजदुरी गर्न जाने न्यून भएको उनले सुनाए । यार्सागुम्बाको समयमा महिला, पुरुष, स्कुले बालबालिका यार्सागुम्बा सङ्कलनमा लेकतिर जाने गर्छन् । दुई वर्ष कोरोनाका कारण यार्सागुम्बा सङ्कलनमा समेत असर प¥यो । यस वर्ष यार्सागुम्बा वैशाखमै सङ्कलन भयो ।
सङ्कलन गरेकाहरुले अहिले यार्सागुम्बा बिक्री गरिसकेका छन् । यार्सागुम्बा खरिद गर्न व्यापारी गाउँगाउँमा व्यापारी पुगेका छन् । व्यापारी आफँै घरघरमा पुगेर स्थानीयबाट यार्सागुम्बा खरिद गर्ने गर्छन् ।
यस वर्ष व्यापारीले प्रतितोला १५ देखि १८ हजार रुपैयाँ हालेर यार्सागुम्बा खरिद गरेका छन् । विगतको भन्दा स्थानीयले यस पटक यार्सागुम्बाको मूल्य राम्रो पाएका छन् । जिल्लाबाट यस वर्ष असारसम्म ७२२ किलोग्राम यार्सागुम्बाको छोडपूर्जी जारी भएको छ ।
अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बाको छोडपुर्जीबाट प्रतिकिलो ३० हजारका दरले कूल २ करोड १६ लाख ६० हजार राजस्व सङ्कलन गरेको संरक्षण क्षेत्रका सूचना अधिकारी इन्द्रसिंह नगारीले जानकारी दिए ।











