
काठमाडौं । लिम्बू समुदायको सांस्कृति पर्व सिसेक्पा तङनामको अवसरमा आयोजित ‘सिसेक्पा कप पुरुष फुटसल प्रतियोगीता’ काठमाडौंमा सुरु भएको छ । याक्थुङ युवा मञ्च जिल्ला कार्य समिति काठमाडौंको आयोजना सुरु भएको प्रतियोगीतामा ४२ टिम सहभागी छन् ।
प्रतियोगीताको विजेता टिमले ट्रफीसहित ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पाउने छ । त्यसैगरी, उपविजेता टिमले ट्रफीसहित ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने याक्थुङ युवा मञ्च जिल्ला कार्य समिति काठमाडौंका अध्यक्ष संगीता सुहाङले जानकारी दिए ।
प्रतियोगीताका उत्कृष्ट खेलाडीले ट्रफीसहित ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।
प्रतियोगीताको उद्धघाटन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले आयोजित प्रतियोगीताले फुटसल र फुटबल खेलको विकास गर्नुका साथै आपसी सद्भाव कायम गर्ने विश्वास व्यक्त गरे ।

मञ्चले हरेक वर्ष प्रतियोगीता आयोजना गर्दै आएको छ । यसअघि दुई वटा प्रतियोगीता सम्पन्न भइसकेको छ । प्रतियोगीताको उद्धघाटनमा दुई महिला टिमले समेत खेलेका थिए ।











