Logo
Logo

युवालाई ऊर्जा र उद्यमशीलतासँग जोडौँ : मन्त्री विश्वकर्मा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले युवाको ऊर्जालाई उद्यमशीलता र उत्पादनसँग जोड्नुपर्ने बताउनुभएको छ । पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजले आज आयोजना गरेको ‘केसिसी एक्जिबिट २०१९’ को उद्घाटन कार्यक्रममा उहाँले देश विकासमा युवाको भूमिकामा जोड दिनुभयो ।

प्रदर्शनी अवलोकन: युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा कान्तिपुर सिटी कलेजले काठमाडौँमा शुक्रबार आयोजना गरेको प्रदर्शनी अवलोकन गर्दै । प्रदर्शनीमा सूचना प्रविधि, इन्जिनियरिङ अध्ययनरत विद्यार्थीले तयार पारेका परियोजनालगायत सामग्री राखिएका छन ।

मन्त्री सुनारले युवालाई विज्ञान–प्रविधिसँग जोड्दै जानुपर्ने बताउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रले दिएको अवसरलाई युवा क्षेत्रले चाँडो उपयोग गर्नुपर्नेमा उहाँको जोड थियो । नेपालमा दक्ष र प्राविधिक जनशक्तिको उत्पादन बढाउँदै जानुपर्ने उहाँले बताउनुभयो । युवालाई स्वदेशमा नै परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो देशभित्र श्रमको सम्मान नभएकामा अहिले हामी त्यो बदल्न लाग्नुपर्छ ।”

राष्ट्रिय सुशासन, विकास र समृद्धिको राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न युवाको महत्वपूर्ण भूमिका हुने मन्त्री सुनारले बताउनुभयो । यस्ता कार्यक्रमहरुले नै युवालाई अघि बढाउने उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “युवाहरुलाई खाडी देशमा होइन यहीँ अनुसन्धान र स्वरोजगारीमा लगाउनुपर्छ ।”

नेपाल सरकारको सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले सूचना–प्रविधिलाई सजिलोका लागि मात्र नभई दिगोपनका लागिसमेत प्रयोग गर्नुपर्ने बताउनुभयो ।

प्राध्यापक रामकृष्ण रेग्मीले दिगो विकास लक्ष्यतर्फ अघि बढ्न यस्ता प्रदर्शनीले सहयोग गर्ने उल्लेख गर्नुभयो ।
नेपाल इञ्जिनीयरिङ काउन्सिलका अध्यक्ष ई। डिल्लीरमण निरौलाले युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न नेपालमा गुणस्तरीय र उत्पादनमूलक शिक्षा आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री गणेश साहले दिगो विकासका लक्ष्यलाई सम्बोधन गर्न नयाँपन चाहिने बताउनुभयो । कलेजका अध्यक्ष सुमन कटवालले कलेजले बर्सेनी यस्ता प्रदर्शनी गर्दै आएको बताउनुभयो ।

प्रदर्शनीमा सूचना प्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इञ्जिनीयरिङका २६ भन्दा बढी नवीन प्रदर्शनी, दुई वटा खेलकूदका स्टल, चार खाजा स्टल रहेको छ । कार्यक्रम शनिबारसम्म चल्ने आयोजकले जनाएको छ । कार्यक्रममा दुई दिनमा २५ हजार अवलोकनकर्ताको अपेक्षा गरिएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्