
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने हजार बढी फर्मलाई कारबाही गरेको छ ।
२०७८/७९ मा १ हजार ३ सय ३१ व्यापारिक फर्म/कम्पनी तथा उद्योगलाई कारबाहीस्वरुप जरिवाना गरेकोे हो । यसबाट १ करोड ८१ लाख ९६ हजार राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।
अनुगमन गरिएका फर्ममध्ये झन्डै आधालाई जरिवाना गरिएको विभागका निर्देशक हरी पङ्गेनीले जानकारी दिए । विभागले सामान्य गल्ती गर्ने फर्मलाई एकपटक सुधारको मौकासमेत दिने गरेको छ ।
यसअवधिमा ३ हजार १ सय ४७ फर्मको अनुगमन गर्दा ३ सय १२ फर्ममात्र सामान्य अवस्थामा थिए । १ हजार ७३ फर्ममा कैफियत देखिएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको जनाएको छ ।
यसैगरी ६ सय ८५ फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेश गर्न निर्देशन, ३३ फर्मबाट परीक्षण गर्न वस्तुको नमूना सङ्कलन, साधनसहित ३ जना प्रक्राउ र १३ फर्मको कारोबार रोक्का गरी सिलबन्दी गरिएको थियो ।
सो अवधिमा विभागले खान अयोग्य वा म्याद सकिएका ५४ लाख लाख ८२ हजार मूल्य बराबरका वस्तु तत्कालै नष्ट गर्न लगाएको छ । सबैभन्दा धेरै कारवाही खाद्यान्न तथा किराना पसललाई गरिएको छ ।
विभागले नियमितरुपमा खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, तरकारी तथा पलफूल, मासु, मदिरा, मार्ट, हार्डवेयर, मिठाइ तथा इलोक्ट्रोनिक्सलगायतका पसलको अनुगमन गर्दै आएको छ ।
अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिद बिक्री बिल नराख्नेलाई ५ हजारदेखि ३ लाखसम्म जरिवाना गरिएको विभागले जनाएको छ ।











