काठमाडौं । नेपाल भइन्भेष्टमेन्ट बैंकको नाफा करिब १५ प्रतिशले बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको बैंकले नाफा १४.८३ प्रतिशतको वृद्धि भएको जनाएको छ ।

आर्थिक वर्ष ०७७/०८ मा तीन अर्ब ५५ करोड रुपैयाँ खुद नाफा गरेको एनआइबिएलले आर्थिक वर्ष ०७८/७९ मा चार अर्ब रुपैयाँभन्दा धेरै नाफा गरेको छ ।
बैंकको खुद ब्याज आम्दानी र फि, कमिसन आम्दानीमा सामान्य सुधार देखिए पनि अन्य खर्च बढेका कारण नाफामा उल्लेख्य प्रगति देखिएन । जसमध्ये खुद ब्याज आम्दानी ६.३७ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी १३.३० प्रतिशत बढेको हो। बैंकको कर्मचारी खर्च पनि १३ प्रतिशत बढेको छ ।
यसबाहेक बैंकको नोक्शानी व्यवस्थापन वापतको एक अर्ब ६२ करोड रुपैयाँ रकम पनि रिभर्सल भएको छ । परिणाम स्वरूप बैंकको संचालन नाफा ३१.४१ प्रतिशत बढेर ६ अर्ब ७२ करोड रुपैयाँभन्दा धेरै छ ।
बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३ करोड रुपैयाँ छ। जसको आधारमा गत आर्थिक वर्षका लागि बैंकसँग ११ प्रतिशतभन्दा धेरै लाभांश दिने क्षमता छ।
एक बर्षको अवधिमा बैंकको निक्षेप ५.८६ प्रतिशतले बढ्दा ऋण ०.४२ प्रतिशतले बढेको छ । बैंकसँग ग्राहकबाट उठाएको निक्षेप एक खर्ब ८४ अर्ब ७९ करोड र ऋण एक खर्ब ५७ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।
खुद नाफा बढेपछि प्रति सेयर आम्दानीमा पनि सामान्य सुधार देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ०.३२ रुपैयाँले बढ्दा बैंकको प्रति सेयर आम्दानी २२.३२ रुपैयाँ कायम छ ।
सो अवधिमा बैंकको प्रति सेयर नेटवर्थ भने ११ रुपैयाँ घट्यो । बैंकको प्रति सेयर नेटवर्थ हाल १८७.२१ रुपैयाँ छ । र, धितोपत्र बजारको अन्तिम कारोबार मूल्य ११।८७ गुणा छ ।












