
काठमाडौं । काठमाडौं कुलेश्वरस्थित गौतमश्री सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको रकम फिर्ता नगरी फरार भएको भन्दै पीडितले सहकारी विभागमा उजुरी दिएका छन् ।
आइतबार बिभागमा भेला भएर उनीहरुले सामूहिक रुपमा उजुरी दिएका हुन् । सञ्चालकले ७ दिनका लागि कार्यालय बन्द गर्ने भनिएतापनि सबै फरार रहेको र रकम फिर्ता नगरेको पीडितको भनाइ छ ।
बचतकर्ताको साढे ५ अर्ब हिनामिना भएकाले उजुरी दर्ता गरिएको पीडित विजय कुमार रञ्जीतले बताए । आफुहरुले प्रमाणसमेत राखेर उजुरी गरेको र बिभागले न्याय गर्ने उनले बताए ।
सञ्चालक फरार भएपपछि अहिले सहकारीमा एभरेष्ट बैंकले सूचना टाँस गरेर सिल गरेको छ । बिभागले सहकारीको चल अचल सम्पती रोका गर्न अनुरोध गरेर प्रहरी अपराध अनुसन्धान कार्यालयलाई पत्राचार भइसकेको जनाएको छ ।












